कञ्चनरूप, २८ पुस । वैदेशिक रोजगारीका नाममा ठगी गरेको अभियोगमा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीको प्रलोभन देखाई रकम ठगी गरेको उजुरी परेपछि खोजतलासमा रहेका प्रतिवादी गहेन्द्रकुमार साहलाई पक्राउ गरिएको हो ।
सप्तरी जिल्ला विष्णुपुर गाउँपालिका–३ निवासी साहविरुद्ध वैदेशिक रोजगारी सम्बन्धी कसुरमा उजुरी परेको थियो । प्रहरीले प्राप्त सूचनाका आधारमा पुस २७ गते आइतबार दिउँसो करिब ४:३० बजे साहलाई गाउँ बाटै पक्राउ गरेको हो ।
पीडित कमल सिंह धामीले साह विरुद्ध दिएको उजुरीका आधारमा साहविरुद्ध वैदेशिक रोजगार विभाग, काठमाडौंमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो ।
पक्राउपछि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्दै यस्ता घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।












