समाचार समाज

सप्तरीमा ५८ केजीभन्दा बढी गाँजासहित दुई जना पक्राउ

कञ्चनरुप, १८ फागुन । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।
बलान–बिहुल गाउँपालिका–२ स्थित दिधिया टोलमा निर्माणाधीन घरमा गाँजा लुकाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा ४२ वर्षीय सुरेन्द्र यादवलाई नियन्त्रणमा लिई सोधपुछ तथा खानतलासी गर्दा उक्त घरबाट प्लास्टिकका तीन वटा बोरा फेला परेका थिए ।
बरामद गाँजा तौल गर्दा ५८ केजी ८०० ग्राम (प्लास्टिक बोरा सहित) र प्लास्टिकको बोरा बाहेक ५७ केजी ९०० ग्राम लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार सुरेन्द्र यादवले उक्त गाँजा बिक्री वितरणका लागि घरधनी ४३ वर्षीय किशुनदेव यादवको घरमा राखेको बयान दिएका छन्। त्यसपछि प्रहरीले किशुनदेव यादवलाई समेत पक्राउ गरेको छ।
दुवै जनालाई लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सम्मानित सप्तरी जिल्ला अदालतबाट १० दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page