कञ्चनरुप, ४ वैशाख । सप्तरीको सप्तकोशी नगरपालिका–५ गंगाजलीमा शुक्रबार महँगु लेखी वृद्धाश्रमद्वारा आयोजित एक विशेष समारोहबीच प्रजातान्त्रिक आन्दोलनका योद्धा, सञ्चारकर्मी तथा ज्येष्ठ नागरिक गरी तीन दर्जनभन्दा बढी व्यक्तित्वलाई सम्मान गरिएको छ।
वृद्धाश्रमका संरक्षक तथा मधेश प्रदेश सभा सदस्य एवं पूर्व गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामअशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका योद्धाहरू—पूर्वमन्त्री सत्यनारायण मण्डल, हेमराज ताडेड, दिवाकर देवकोटा, मुरारी कार्की, रविन्द्र चौधरी, रमेश कार्की, दिनेश्वर प्रसाद चौधरी, प्रदीप गुप्ता, उपेन्द्र चौधरी, देव नारायण श्रेष्ठ, रामदेव चौधरी तथा उपेन्द्र कुमार झा—लाई विशेष रूपमा सम्मान गरिएको थियो।

त्यसैगरी सञ्चार क्षेत्रबाट आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा, प्रेस स्वतन्त्रता सेनानी प्रकाश खतिवडा, ‘न्युज टुडे’का कार्यकारी सम्पादक बृजमान तामाङ तथा सम्पादकहरू श्रवण देव, भोला पासवान, राजकुमार पासवान, खगेन्द्र कार्की, उत्सव आचार्य, अनिल पोखरेल, विपी कोइराला र मनु पासवानलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा ८० वर्ष नाघेका एक दर्जनभन्दा बढी ज्येष्ठ नागरिकलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो। प्रमुख अतिथि सभामुख यादवले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला तथा कदरपत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च मूल्याङ्कन गर्नुभयो।

सो अवसरमा बोल्दै सभामुख यादवले प्रजातन्त्र स्थापना र सुदृढीकरणका लागि संघर्ष गर्ने व्यक्तित्वहरूको सम्मान गर्नु अत्यन्तै प्रशंसनीय कार्य भएको बताउनुभयो। यस्ता कार्यक्रमले नयाँ पुस्तामा लोकतान्त्रिक मूल्य र मान्यताप्रति सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
अध्यक्ष राजकुमार लेखीले निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सहभागी भई जेलनेल तथा यातना भोगेका योद्धा, सञ्चारकर्मी र ज्येष्ठ नागरिकहरूको योगदानको कदरस्वरूप सम्मान गरिएको जानकारी दिनुभयो। उहाँले यस्ता व्यक्तित्वहरूको त्याग र समर्पणले नै आजको लोकतान्त्रिक व्यवस्था सम्भव भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूका तर्फबाट पूर्वमन्त्री सत्यनारायण मण्डल, हेमराज ताडेड, दिवाकर देवकोटा, मुरारी कार्की, रविन्द्र चौधरी, रमेश कार्की, दिनेश्वर प्रसाद चौधरी, प्रदीप गुप्ता, उपेन्द्र चौधरी, देव नारायण श्रेष्ठ, रामदेव चौधरी, उपेन्द्र कुमार झा, जितेन्द्र खड्गा, प्रकाश खतिवडा, बृजमान तामाङ, श्रवण देव, भोला पासवान तथा मधेश प्रदेश सभा सदस्य अनिरुद्ध प्रसाद सिंह र राजेन्द्रप्रसाद चौधरीले मन्तव्य राख्नुभएको थियो।

चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डका अध्यक्ष किशोर लेखीले कार्यक्रम सञ्चालन गर्नुभएको उक्त समारोहमा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका पदाधिकारी तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।












