विराटनगर, १९ वैशाख । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ठूलो परिमाणको नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुद्ध एयर र श्री एयरलाइन्सको उडानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका दुई यात्रुको साथबाट कुल २६ लाख ९८ हजार रुपैयाँ बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नियमित जाँचका क्रममा फरक फरक समयमा उनीहरूलाई उक्त रकमसहित पक्राउ गरिएको हो।
प्रहरीका अनुसार वैशाख १८ गते शुक्रबार राति ८ बजे बुद्ध एयरको उडानबाट काठमाडौं जान लागेका सुनसरीको धरान उपमहानगरपालिका १८ का ३५ वर्षीय दिलीप तामाङ पक्राउ परेका हुन्। उनको झोला खानतलासी गर्दा स्रोत नखुलेको ११ लाख रुपैयाँ फेला परेको थियो।
त्यस्तै, आज (शनिबार) दिउँसो ३ः३५ बजे श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौं प्रस्थान गर्न लागेका भारतीय नागरिक मोहिदिल अलि पक्राउ परेका छन्। पश्चिम बंगाल, मालदहका ३६ वर्षीय अलिको साथबाट स्रोत नखुलेको १५ लाख ९८ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
ठूलो परिमाणमा बरामद भएको उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ। यति धेरै रकम अवैध कारोबार वा हुण्डीसँग सम्बन्धित हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूमाथि प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।











