समाचार

छरिएका दाजुभाइलाई जोड्दै द्वारिका आचार्य एकता समाज, अध्यक्षमा पुनः चक्रप्रसाद चयन

कञ्चनरूप । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६, महुली मोहनपुरमा ‘द्वारिका आचार्य एकता समाज नेपाल’को परम्परागत गोठ पूजा तथा दशौं चुनावी वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ ।
महुली निवासी अर्जुन आचार्यको निवासमा शुक्रबार आयोजित उक्त कार्यक्रम समाजका अध्यक्ष चक्रप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाले आगामी कार्यकालका लागि पुनः चक्रप्रसाद आचार्यकै अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नयाँ समितिको उपाध्यक्षमा दीपेन्द्र आचार्य, सचिवमा धुर्व आचार्य र कोषाध्यक्षमा रामप्रसाद आचार्य चयन हुनुभएको छ । यस्तै, सदस्यहरूमा उत्तम आचार्य, राजकुमार आचार्य, राममणी आचार्य, रामप्रसाद आचार्य र यादव प्रसाद आचार्य रहनुभएको छ । सभाले प्रकाश आचार्यको संयोजकत्वमा लेखा समितिसमेत गठन गरेको छ, जसको सदस्यहरूमा अर्जुन आचार्य र रमेश आचार्य रहनुभएको छ ।

कार्यक्रममा बोल्दै समाजका संरक्षक भुवनप्रसाद आचार्यले छरिएर रहेका र चिनजानसमेत नभएका दाजुभाइलाई एउटै मञ्चमा ल्याउन समाजले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, पहिले आफ्नै घरका दाजुभाइ चिन्न गाह्रो थियो, तर समाजको गठनपछि टुटेको सम्बन्ध जोडिएको छ । अब द्वारिका आचार्यका सन्ततीहरूको पहिचानलाई थप सुदृढ बनाउँदै लैजानुपर्छ ।

साधारण सभामा निवर्तमान कोषाध्यक्ष रामप्रसाद आचार्यले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार समाजको कोषमा हाल १२ लाख १९ हजार ३ सय ७२ रुपैयाँ मौज्दात रहेको जानकारी गराइयो ।
साधारण सभा अघि समाजले आफ्नो परम्परा अनुसार गोठ पूजा सम्पन्न गरेको थियो । समाजका पुजारी श्रीप्रसाद आचार्यका अनुसार गोष्ठादी, महारुद्र, काडब्रम्ह, ऐरि, गैडु गोसाइँ, संसारी, गोबर्धन र कुकुरको विशेष पूजा गरी धुपबत्ती अर्पण गरिएको थियो ।
समाजका सचिव केशव प्रसाद आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा आचार्य वंशजका ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

   

You cannot copy content of this page