कञ्चनरूप । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा शनिबार बिहानै खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक किसानको दुःखद निधन भएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदह निवासी स्थानीय किसान सहदेव लौगीको आफ्नै खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहान करिब ६:३० बजेको समयमा खेतमा जडान गरिएको मोटर चलाउने क्रममा अचानक विद्युत् सर्ट भई लौगीलाई करेन्ट लागेको थियो। नगरपालिकाले सिँचाइ सुविधाका लागि विस्तार गरेको कृषि विद्युतीकरण प्रणाली अन्तर्गतको मोटरमा करेन्ट प्रवाह हुँदा यो दुर्घटना भएको स्थानीयले बताएका छन्।
स्थानीय बासिन्दाहरूले कृषि विद्युतीकरणको प्राविधिक गडबडी र लापरबाहीका कारण किसानको ज्यान गएको आरोप लगाएका छन्।
घटनालगत्तै पुगेको प्रहरी टोलीले मुचुल्का उठाई मृतक लौगीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ताले घटनाको बारेमा थप अनुसन्धान भइरहेको र प्राविधिक कारणहरूको पनि छानबिन गरिने जानकारी दिएका छन्।










