कञ्चनरुप, १८ जेठ । सप्तरी प्रहरीले विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार अभद्र व्यवहार तथा चोरी मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादीहरूलाई खोजतलासका क्रममा पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा सप्तरीको रुपनी गाउँपालिका–५ गदिया टोल निवासी ३० वर्षीय जगरनाथ दास, हनुमाननगर कंकालिनी नगरपालिका–१४ निवासी ४५ वर्षीय दशरथ कुमार खत्वे तथा राजविराज नगरपालिका–६ निवासी २७ वर्षीय मो। सोनु रहेका छन्।
प्रहरीका अनुसार जगरनाथ दास अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय राजविराजबाट २०८३ वैशाख १६ गतेदेखि लागू हुने गरी ४ दिन कैद सजाय तोकिएका प्रतिवादी हुन्। यस्तै, दशरथ कुमार खत्वेलाई अभद्र व्यवहार मुद्दामा २०८३ जेठ १४ गतेदेखि लागू हुने गरी ७ दिन कैद सजाय तोकिएको थियो।
त्यसैगरी, मो. सोनु चोरी मुद्दाका प्रतिवादी हुन्। उनलाई २०८३ जेठ १७ गतेदेखि लागू हुने गरी ५ दिन कैद सजाय तोकिएको प्रहरीले जनाएको छ।
फरार रहेका उनीहरूलाई सम्बन्धित स्थानबाट पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका प्रतिवादीहरूलाई सम्बन्धित निकायमा बुझाई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।










