कञ्चनरूप, २६ असार । सप्तरी प्रहरीले डाँका मुद्दामा अदालतबाट सजाय सुनाइएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फैसला कार्यान्वयन अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी नारायण साह तेली भनिने भूप नारायण साहलाई पक्राउ गरेको हो।
उनी साविक टिकुलिया गाविस–२, हाल खडक नगरपालिका–५, सप्तरीका बासिन्दा हुन्। सप्तरी जिल्ला अदालत राजविराजबाट डाँका मुद्दामा दोषी ठहर भई ६ वर्ष कैद र ७२ हजार रुपैयाँ जरिवाना सजाय सुनाइएपछि फरार रहेका थिए।
प्रहरीले खोजतलासका क्रममा उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको जनाएको छ। अदालतको आदेशअनुसार सजाय भुक्तानीका लागि उनलाई कारागार कार्यालय राजविराज पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन्।















