समाचार समाज

सप्तरीमा ३ हजार किलोभन्दा बढी गाँजासहित तीन वटा स्कर्पियो नियन्त्रण

कञ्चनरूप, ७ साउन । सप्तरी प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–५ क्षेत्रमा सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा ३ हजार ३३२.४६० किलोग्राम गाँजासहित तीनवटा सवारीसाधन नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीनवटा सवारीसाधनलाई शङ्काको आधारमा जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो।

प्रहरीले बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कर्पियोबाट १९ बोरामा रहेको ५२३.६४० किलोग्राम, प्र १–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा रहेको १ हजार ६६८.११० किलोग्राम तथा बा.प्र.०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा रहेको १ हजार १७०.७१० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।

घटनामा प्रयोग भएका तीनवटै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। तर, प्रहरी टोली पुग्नुअघि नै चालकहरू फरार भएकाले उनीहरूको खोजी तीव्र पारिएको छ।

बरामद गाँजा र सवारीसाधनलाई आवश्यक कानुनी प्रक्रियाका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। फरार चालकहरूको खोजी तथा लागूऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिको पहिचान गरी पक्राउ गर्न अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

   

You cannot copy content of this page