कञ्चनरूप, ८ साउन । जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रहरी सहायक हवल्दार अशोक साह कानुलाई २०८३ साल असार महिनाको “बेस्ट डिस्ट्रिक्ट पुलिस अफ द मन्थ” (Best District Police of the Month) बाट सम्मानित गरेको छ।
प्रहरी चौकी झुट्कीमा दरबन्दी भई हाल प्रहरी चौकी पत्थरगाडा, सप्तरीमा कार्यरत प्रहरी सहायक हवल्दार कानुलाई संगठनले तोकेको जिम्मेवारी उच्च व्यावसायिकता, इमान्दारिता र अनुशासनका साथ सम्पादन गरेको मूल्याङ्कनपछि उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
कार्यालयका अनुसार उनले कार्यालयबाट खटाइएका विभिन्न जिम्मेवारी तथा ड्युटी प्रभावकारी रूपमा सम्पन्न गर्नुका साथै प्रहरी आचारसंहिताको पूर्ण पालना गर्दै संगठनको गरिमा बढाउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।
उत्कृष्ट प्रहरीका रूपमा छनोट भएका प्रहरी सहायक हवल्दार कानुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए। सो अवसरमा प्रहरी उपरीक्षक खड्काले उपस्थित प्रहरी कर्मचारीलाई व्यावसायिक, अनुशासित र नागरिकमैत्री सेवा प्रवाह गर्न आवश्यक निर्देशनसमेत दिएका थिए।
जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई नियमित रूपमा सम्मान गर्दै उत्कृष्ट कार्य गर्न प्रोत्साहन गर्ने उद्देश्यले “बेस्ट डिस्ट्रिक्ट पुलिस अफ द मन्थ” कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।












