सर्लाही, ९ साउन । सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित एक कुखुरा फार्मबाट प्रहरीले ३३० किलोग्राम गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।
शनिबार दिउँसो करिब १:१५ बजे उक्त फार्ममा बा.प्र.०१–०२६ च २८८६ नम्बरको योद्धा पिकअपबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीले फार्ममा खानतलासी गर्दा १९ वटा पोकाभित्र लुकाइ राखिएको ३३० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ। साथै घटनास्थलबाट २६ वटा बोरामा रहेको करिब १३ क्विन्टल अदुवा पनि फेला परेको छ।
कारबाहीका क्रममा बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गाँजा, पिकअप र अन्य सामग्री नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।












