पर्सा, १० साउन । पर्सा प्रहरीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको खोजतलासका क्रममा १४० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैँचामा लागुऔषध लुकाएर राखिएको भन्ने गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार राति करिब ११:३० बजे उक्त स्थानमा खानतलासी गरेको थियो।

खोजतलासका क्रममा आँपको बोटमा रहेको घाँसभित्र लुकाइछिपाइ राखिएको १३ वटा पोकामा प्याक गरिएको १४० किलोग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
बरामद गरिएको गाँजा नियन्त्रणमा लिई घटनामा संलग्न व्यक्ति तथा तस्करी सञ्जालको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाइएको र संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि प्रहरी सक्रिय रूपमा परिचालन भएको जनाइएको छ।












