कञ्चनरूप, १९ साउन । सप्तरीको महादेवा गाउँपालिका–१ स्थित हुलाकी राजमार्गअन्तर्गत महुवा खोलानजिक सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा महादेवा गाउँपालिका–१ निवासी अन्दाजी ३५ वर्षीय सन्तोष राम र ४५ वर्षीय शंकर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार ०१–००६–प २४९६ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण नियन्त्रण गुमाई कल्भर्टमा ठोक्किएको थियो। त्यसपछि मोटरसाइकल सडकबाट करिब १५ फिट तल खसेर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज लगिएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले सन्तोष रामलाई मृत घोषणा गरेका थिए। शंकर रामलाई सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिनुभयो।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















