समाचार

बाँकेमा हवाई फायर गरि १४ किलोबढी अफिमसहित दुई जना पक्राउ

बाँके, १ भदौ । बाँकेमा प्रहरीले १४ किलो ७६० ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

लागूऔषध बिक्री–वितरण गर्ने गिरोहको निगरानी गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बाँकेको कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार लागूऔषध अफिम चोप कारोबार गरिरहेको अवस्थामा पक्राउ गर्न खोज्दा भाग्न खोजेका दुई जनालाई नियन्त्रणमा लिन प्रहरीले चेतावनीस्वरूप एक राउन्ड हवाई फायरसमेत गरेको थियो।

पक्राउ पर्नेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ निवासी ४३ वर्षीय कर्णबहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका–६ निवासी ६० वर्षीय टोपजङ्ग गिरी रहेका छन्।

उनीहरूको साथबाट १४ किलो ७६० ग्राम लागूऔषध अफिम चोप र दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

   

You cannot copy content of this page