कञ्चनरूप, ६ भदौ । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ रुपनगरस्थित तिनघरे टोलमा स्थानीय बासिन्दा तथा सर्वसाधारणको सुविधाका लागि प्रतिक्षालय निर्माण हुने भएको छ। निकुरी–टिकुरी सामुदायिक वनको आर्थिक सहयोगमा निर्माण हुन लागेको प्रतिक्षालयको शुक्रबार एक कार्यक्रमबीच शिलान्यास गरिएको हो।
निकुरी–टिकुरी सामुदायिक वनकी अध्यक्ष भगवती परमारले धार्मिक तथा सामाजिक व्यक्तित्व, स्थानीयवासी, सामुदायिक वनका पदाधिकारी र उपभोक्ताको उपस्थितिमा प्रतिक्षालयको शिलान्यास गरेकी हुन्।
प्रतिक्षालय निर्माणका लागि निकुरी–टिकुरी सामुदायिक वनले करिब १२ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने समाजसेवी अमर श्रेष्ठले जानकारी दिए। उनका अनुसार सार्वजनिक स्थलमा आवतजावत गर्ने स्थानीय बासिन्दा तथा यात्रुहरूलाई बस्न, विश्राम गर्न र सवारीसाधनको प्रतीक्षा गर्न सहज हुने गरी प्रतिक्षालय निर्माण गरिनेछ।
प्रतिक्षालय निर्माणको पहलसँगै तिनघरे टोलका स्थानीयवासीमा खुसीयाली छाएको छ। गर्मी, वर्षा तथा अन्य प्रतिकूल मौसममा सर्वसाधारणलाई केही समय विश्राम गर्न तथा सवारीसाधनको प्रतीक्षा गर्न प्रतिक्षालय उपयोगी हुने स्थानीयको भनाइ छ।
सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय समुदायको आवश्यकता र हितलाई ध्यानमा राखेर पूर्वाधार निर्माणमा सहयोग गरेकोमा स्थानीयवासीले प्रशंसा गरेका छन्। उनीहरूले प्रतिक्षालय निर्माणका लागि आर्थिक सहयोग गरेकोमा निकुरी–टिकुरी सामुदायिक वनलाई धन्यवाद दिँदै निर्माण कार्य गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न आग्रह गरेका छन्।
शिलान्यास कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दालगायतको उल्लेख्य सहभागिता रहेको थियो।
स्थानीयवासीका अनुसार प्रतिक्षालय निर्माण सम्पन्न भएपछि तिनघरे टोल हुँदै आवतजावत गर्ने सर्वसाधारणका लागि महत्वपूर्ण सुविधा थपिनेछ। सामुदायिक वनको सहयोगमा निर्माण हुन लागेको उक्त संरचनाले स्थानीयस्तरमा सामुदायिक वनको सामाजिक भूमिका र जनहितका कामलाई समेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


















