कञ्चनरूप सप्तरी । कोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजमा खतराको घण्टी बजाउँदै ‘रेड लाइट’ (खतराको संकेत) बालिएको छ।
साँझ ०६:१५ बजेको पछिल्लो मापन अनुसार कोशी ब्यारेज भएर प्रवाह हुने पानीको बहाव २ लाख २० हजार २५ क्युसेक पुगेको छ। पानीको बहाव थप नबढे पनि लगातार उच्च र ‘स्थिर’ (Steady) अवस्थामा रहेकाले नदी नियन्त्रणका लागि ब्यारेजका ५६ मध्ये २७ वटा ढोका खोलिएका छन्।
पानीको सतहले खतराको तह पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। विशेष गरी नदी आसपासका होचा भू-भाग, डुबान क्षेत्र तथा श्रीलंका टापु र तल्लो तटीय बस्तीहरूमा बाढी र कटानको जोखिम बढेको छ।
स्थानीय प्रशासन तथा जल तथा मौसम विज्ञान विभागले नदी आसपासका बासिन्दालाई सतर्क रहन, अनावश्यक रूपमा नदी किनारमा नजम्मा हुन र सुरक्षित स्थानतर्फ पूर्वतयारीका साथ बस्न अनुरोध गरेका छन्।














