धर्म संस्कृति समाचार समाज

हरितालिका तिजमा सप्तरीका शिवालयमा महिला भक्तजनको घुइँचो

उत्सव आचार्य

कञ्चनरूप, २९ भदौ । हरितालिका तिज पर्वको अवसरमा सप्तरी जिल्लाका विभिन्न शिवालय तथा धार्मिकस्थलमा भगवान् शिवको पूजा–आराधना गर्ने महिला भक्तजनको उल्लेख्य घुइँचो लागेको छ।

तिजका दिन सोमबार बिहानैदेखि जिल्लाका प्रमुख शिवालय तथा मन्दिरहरूमा व्रतालु महिलाहरू नयाँ तथा परम्परागत पहिरनमा सजिएर पूजा–आराधनाका लागि पुगेका थिए। शिवालयमा पुगेका महिलाहरूले भगवान् शिव र पार्वतीको विधिपूर्वक पूजा गर्दै आफ्नो तथा परिवारजनको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरेका छन्।

कञ्चनरूप नगरपालिका–१२ रुपनगरस्थित त्रिमार्ग त्रिपुरेश्वर शिवालय, धरमपुरस्थित धर्मेश्वर महादेव मन्दिर, कलौनीस्थित शिवालय, कञ्चनरूप नगरपालिका–६ बलुवास्थित भजनेश्वर महादेव मन्दिर तथा वडा नम्बर ८ स्थित शिवालयमा बिहानैदेखि महिला भक्तजनको बाक्लो उपस्थिति देखिएको थियो।

त्यसैगरी, शम्भुनाथस्थित प्रसिद्ध शम्भुनाथ महादेव मन्दिर तथा राजविराजका विभिन्न शिवालयमा पनि तिजको पूजा गर्न आउने व्रतालु महिलाको उल्लेख्य भीड लागेको थियो।

हरितालिका तिजमा हिन्दु महिलाहरूले भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गरी आफ्नो दाम्पत्य जीवन सुखमय होस्, परिवारमा सुख, शान्ति र समृद्धि कायम रहोस् तथा परिवारजनको दीर्घायु होस् भन्ने कामनासहित व्रत बस्ने धार्मिक परम्परा रहिआएको छ।

कतिपय व्रतालु महिलाले निराहार व्रत बसेर शिवालयमा पूजा गरेका थिए भने कतिपयले फलफूल तथा पानी सेवन गरी व्रत बसेका थिए। बिहानैदेखि शिवालयमा पुगेका महिलाहरूले पूजा सामग्रीसहित शिवलिङ्गमा जल, दूध, बेलपत्र, फूल तथा विभिन्न प्रसाद चढाएर पूजा गरेका थिए।

तिजको अवसरमा शिवालय तथा आसपासका क्षेत्रमा धार्मिक चहलपहलसमेत बढेको थियो। मन्दिर परिसरमा महिला भक्तजनहरू तिजका परम्परागत गीत गाउँदै, नाचगान गर्दै तथा एक–अर्कासँग शुभकामना आदानप्रदान गर्दै पर्वको उल्लासमा सहभागी भएका थिए।

0-3456×4608-0-0-{}-0-12#bokehtype:0#;illum:2 scene:0 humanIn:3;

विवाहित तथा अविवाहित महिलाको समान सहभागिता देखिएको तिजमा कतिपय स्थानमा स्थानीय महिला समूह तथा संघसंस्थाले समेत सामूहिक पूजा, दर खाने तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए। जसका कारण शिवालय तथा आसपासका क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको थियो।

तिज पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न शिवालय क्षेत्रमा स्थानीय स्वयंसेवक तथा सुरक्षा निकायको समेत उपस्थिति रहेको थियो। भक्तजनको भीडलाई व्यवस्थापन गर्दै पूजा–आराधनालाई सहज बनाउने प्रयास गरिएको थियो।

सप्तरीका ग्रामीणदेखि सहरी क्षेत्रसम्मका शिवालयहरूमा बिहानैदेखि लागेको महिला भक्तजनको भीडले जिल्लामा तिज पर्वप्रतिको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई थप उजागर गरेको छ। श्रद्धा, भक्ति, उल्लास र आपसी सद्भावका साथ यस वर्ष पनि सप्तरीमा हरितालिका तिज पर्व मनाइएको छ।

You cannot copy content of this page