मकवानपुर, ३० भदौ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक ईभी गाडी सडकबाट करिब एक हजार मिटर तल खस्दा चालकसहित चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा चालकसहित चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ भने एक महिलालाई उपचारका लागि हेटौंडा पठाइएको छ।
दुर्घटनालगत्तै प्रहरी चौकी खानीखेतबाट प्रहरी सहायक निरीक्षक, इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहित २१ जनाको टोली घटनास्थलमा पुगेको थियो। टोलीले उद्धार कार्य गरेको प्रहरीले जनाएको छ।
उक्त ईभीमा चालकसहित आठ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।















