बझाङ, २ असोज । बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने एक महिला पक्राउ परेकी छन् ।
जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फालिएको भिडियो सामाजिक सञ्जालमा प्रसारण भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा पानकोट पुलको पश्चिम किनाराको रेलिङ पाइपमुनिबाट कुकुरलाई धकेली नदीमा फाल्ने महिला जयपृथ्वी नगरपालिका–३ पडेष गाउँकी ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रोकायाले कुकुरलाई पुलबाट सेती नदीमा फालेर पशुपन्छीप्रति निर्दयी व्यवहार गरेको देखिएको छ ।
रोकायालाई २०८३ असोज १ गते बेलुकी पक्राउ गरिएको हो । पक्राउ परेकी रोकायामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















