कोशी प्रदेश • समाचार

सुनसरीमा सुमो गाडीबाट ५६४ किलो गाँजा बरामद, चालक फरार

सुनसरी, १५ असोज । सुनसरी प्रहरीले ५ सय ६४ किलो गाँजासहित एउटा सुमो गाडी बरामद गरेको छ। प्रहरीले बरामद गाँजालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राति करिब ११ः४० बजे सुनसरीको बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडकखण्डमा इलाका प्रहरी कार्यालय सितागञ्ज, प्रहरी चौकी अमडुवा र सशस्त्र प्रहरी बल, नेपाल बीओपी अमडुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको बा १२ च १७३८ नम्बरको सुमो गाडी चेकजाँच गर्न खोजेको थियो।

प्रहरी टोलीलाई देखेपछि चालकले सुमो गाडी छाडेर फरार भएका थिए। गाडीको चेकजाँच गर्ने क्रममा भित्र गाँजाजस्तो देखिने पदार्थ ५६४ केजी (५ सय ६४ किलो) फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित सुमो गाडीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबी, सुनसरीमा ल्याएर थप अनुसन्धान भइरहेको छ।

फरार रहेका चालकको पहिचान तथा खोजतलाससमेत भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

You cannot copy content of this page