धर्म संस्कृति • समाज

सोह्र श्राद्ध आज समापन हुँदै, मातामह श्राद्ध आइतबार

कञ्चनरूप (सप्तरी) । दिवङ्गत पितृको सम्झना र सम्मानमा गरिने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आज (शनिबार) विधिपूर्वक समापन गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्षको अन्तिम दिन आश्विन कृष्ण औँसीमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान तथा पिण्डदान गरी श्राद्ध गर्ने धार्मिक परम्परा छ।

आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (मातृपक्षका हजुरबुबा) श्राद्धसमेत गरी कुल १६ तिथिमा श्राद्ध गरिने भएकाले यसलाई ‘सोह्र श्राद्ध’ भनिन्छ। यस वर्ष मातामह श्राद्ध भने आइतबार गरिनेछ।

धार्मिक मान्यताअनुसार पितृ पक्षका अन्य तिथिमा कुनै कारणवश श्राद्ध गर्न नसकिएको भए औँसीका दिन गर्न सकिन्छ। आज पनि श्राद्ध गर्न सम्भव नभएमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म श्राद्ध गर्न सकिने शास्त्रीय व्यवस्था रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।

उनका अनुसार उक्त अवधिमा पनि श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिनेछ। त्यस समयमा पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म अनुकूल तिथि जुराएर श्राद्ध गर्न सकिने शास्त्रीय मान्यता रहेको छ।

यसैगरी, आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसीका दिन, भरणी नक्षत्र तथा व्यतीपात योग परेका बेला जुनसुकै तिथि भए पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने व्यवस्था धर्मशास्त्रका ग्रन्थमा उल्लेख रहेको नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले जानकारी दिए।

उनका अनुसार यी विकल्पमा समेत श्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ र नसक्नेले ब्राह्मणमार्फत वैदिक मन्त्र १०८ पटक दैनिक जप गर्न सकिने शास्त्रीय विकल्प रहेको छ।

पितृ पक्षलाई दिवङ्गत पितृप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्ने विशेष समयका रूपमा लिइन्छ। यस अवधिमा आफ्ना दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान र पिण्डदान गर्ने धार्मिक परम्परा रहिआएको छ।

You cannot copy content of this page