मधेस प्रदेश समाचार

सप्तरीमा जुलुश तथा सभा गर्दा दुई दिन अगावै कार्यक्रमको जानकारी प्रहरी प्रशासनलाई गराउनुपर्ने

राजबिराज , २०७७ पुष १९ गते । सप्तरीमा पार्टीहरुले जुलुश तथा सभा गर्दा दुई दिन अगावै कार्यक्रमको जानकारी प्रहरी प्रशासनलाई गराउनुपर्ने भएको छ ।
प्रतिनिधिसभा विघटनको समर्थन र विरोधमा भइरहेको प्रदर्शनलाई व्यवस्थित गर्न जिल्ला सुरक्षा समिति र जिल्लास्थित राजनीतिक दलका प्रमुखबीच भएको छलफल पश्चात नौ बुँदे सहमति गरिएको छ।
राजविराजलगायत सप्तरीको विभिन्न क्षेत्रमा विभिन्न पार्टीबाट हुने समर्थन र विरोधका कार्यक्रमका बारेमा प्रहरी, प्रशासनलाई कम्तीमा दुई दिन अगावै जानकारी गराउन दल सहमत भएका छन्। दलले कार्यक्रम आयोजना गर्दा भौतिक र मान सम्मानमा हानी, नोक्सानी नपुग्ने गरी गर्ने, गराउने सहमति गरेका छन्।
सहमति पत्रमा एउटा पार्टीले कार्यक्रम गर्ने समय र स्थान फरक पर्ने गरी मात्र कार्यक्रम आयोजना गर्ने तथा कार्यक्रमस्थल जान–आउन फरक मार्गको प्रयोग गर्ने उल्लेख छ।
सामाजिक सद्भाव खलबलिन नदिन उच्च संवेदनशीलता अपनाउन सहमति जनाएका दलहरुले शान्तिपूर्ण एवम् सौहार्दपूर्ण अवस्था कायम राख्न आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउने प्रतिबद्धता गरेका छन्।
यसैगरी कोभिड–१९ को संक्रमणको मौजुदा अवस्थालाई मध्यनजर राख्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाएर मात्र कार्यक्रम आयोजना गर्ने दलले सहमति गरेका छन्। सहमति पत्रमा पार्टीका नेता, कार्यकर्ताले सुरक्षा चुनौती महसुस गरेमा तथ्य प्रमाणसहित नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा पूर्व जानकारी गराउने उल्लेख छ।
बैठकमा प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, जिल्ला सुरक्षा समिति र जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

नौ बुँदे सहमति
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page