राजनीति

नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर मधेशको सामूहिक विकासका लागि प्रयत्नशिल हुन जरुरी :महेश बस्नेत

राजविराज , २०७७ माघ ८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले पार्टीभित्रैबाट केही नेताले सरकारलाई घेराबन्दीमा पारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर संसद् विघटन गरेको बताउनु भयो ।
राजविराज रंगशालामा आज आयोजित युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले पद, कुर्सी र स्वार्थ पूर्तिका लागि पार्टीका केही नेताहरुले समृद्ध नेपालको अभियान चलाएका आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेपछि बाध्यतावश संसद् विघटन गर्नुपरेको बताउनु भएको छ ।
मानिस काटनेहरुले ओलीको खुट्टा काटन नपाए पछि हुत्तिएर माइतीघर मण्डलामा पुगेको भन्नुहुँदै बस्नेतले सुखी नेपाली र समृद्ध नेपालको अभियन्ताको विरोध गर्नुलाई जनता र देशको विरोधीको संज्ञा दिनुभयो ।


संवैधानिक अधिकारको प्रयोग गरेर संसद् विघटन गरेर ताजा जनादेशका लागि चुनावमा जाने निर्णय लोकतान्त्रिक विधी भएको भन्दै उहाँले जनताका बीच जान नखोज्ने वा रोक्न खोज्नेहरु प्रतिगमनकारी भएको टिप्पणी गर्नुभयो ।
साथै प्रधानमन्त्री केपी शर्मा ओली मधेशको विकासका लागि सबै भन्दा बढी चिन्तित रहने गरेको बताउँदै प्रधानमन्त्रीको बिरोध गरेर मधेशको विकास सम्भव नहुने समेत बताउनु भएको छ । उहाँले प्रधानमन्त्री मधेशप्रेमी व्यक्तित्व रहेकाले नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर मधेशको सामूहिक विकासका लागि प्रयत्नशिल हुनु जरुरी रहेको जिकिर गर्नुभयो ।

युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले पुष्पकमल दाहाल र माधवकुमार नेपालमा कार्यकर्ता र जनतासँग भाग्ने, महाधिवेशन र निर्वाचनदेखि डराउने र सजिलै पद खोज्ने प्रवृत्ति रहेको आरोप लगाउनु भयो ।
विभिन्न गाउँबाट आएको मोटरसाइकल ¥यालीसहितको प्रदर्शन पश्चात राजविराजमा आयोजित युवाहरुको भेलालाई सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री ओलीलाई पाँच वर्षसम्म काम गर्न नदिएर दाहाल र नेपालले जनताले दिएको मतको अपमान गरेको बताउनु भयो ।
भारतवेष्ठित मुलुकलाई भुपरिवेष्ठित बनाउने, पारवहन सन्धी गरेर हिन्द महासागरदेखि प्रशान्त महासागरसम्म व्यापारको पहुँच बढाउने, खोसिएको भूभाग फिर्ता ल्याउने, संविधान जारी गरी कार्यान्वयनमा ल्याउने, नाकाबन्दीको विरोध गर्ने, राष्ट्रको प्रतिष्ठा बढाउने र विकासको गतीलाई तिब्रता दिने आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकारलाई असफल बनाई कुर्सी हत्याउने षडयन्त्र विफल भएको उहाँले दावी गर्नुभयो । दुई तिहाइको सरकारलाई काम गर्न नदिने र ताजा जनादेश लिन खोज्दा पनि विरोध गर्ने प्रवृत्ति ठीक नभएको उहाँको भनाइ थियो ।


युवा नेता संजिबकुमार झाले षडयन्त्रबाट सत्ता प्राप्त नभए पछि सडकमा पुगेका प्रचण्ड र माधव नेपाललाई गुगलमा खोज्ने दिन नजिकिएको बताउनु भयो । ‘हामि यहाँ छौ’ भन्ने प्रचण्ड र माधव नेपाल निकट भविष्यमा ‘हामि कहाँ छौ ?’ भनेर देखा पर्ने भन्दै झाले उहाँहरुले विषयवस्तु नपाए पछि गालीगलौजमा उत्रिएको बताउनु भयो ।
अनेरास्ववियुका उपाध्यक्ष शैलेश लामाले ओलीको नेतृत्वमा पाँच वर्ष स्थायी सरकार बनाउने नारासहित निर्वाचनमा ओर्लेको प्रतिबद्धता विर्सेर दुई वर्षमै पार्टीभित्रबाट षडयन्त्र सुरु भएपछि संसद विघटनको अवस्था आएको बताउनु भयो ।
आफ्नै सरकार र पार्टी भत्काउने नेताहरुलाई सबैले चिन्नुपर्ने बताउँदै वक्ताहरु नरेश रोकाया, देवानन्द महतो, ललीतनारायण रजक, दुर्गानन्द ठाकुरले आफ्नै शीर्ष नेताहरुले काम गर्न नदिएपछि र अर्को सरकार बन्ने सम्भावना नरहे पछि प्रतिनिधिसभा विघटन गर्नु वाध्यात्मक भएको बताउनु भयो ।
भेलाले युवा संघको संयोजकमा चितरञ्जन यादवको नाम घोषणा गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page