राजनीति

नेकपाको आज हुन लागेको सभामा तीन लाख मानिस सहभागी हुने : महेश बस्नेत

काठमाडौं । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सत्तारुढ नेकपा ओली समूहले मध्यावधि चुनाव तोकिएकै मितिमा हुने उद्घोषसहित देशभर प्रदर्शनहरु गरिरहेको छ । राजधानी बाहिर विभिन्न जिल्लामा सभा गरिसकेको यो समूहले राजधानी उपत्यकामा आज शुक्रबार सभा राखेको छ ।
आज हुन लागेको सभामा दुई देखि तीन लाख मानिस सहभागी हुने सो समूहका नेताहरुको दाबी छ ।
नारायणहिटी दरबार संग्रहालयमा अगाडि हुने सभामा मार्फत् मूलतः तीन सन्देश दिइने यो समूहका नेता महेश बस्नेत बताउँछन् । उनी भन्छन्, ‘विभाजित नेकपामा ग्राउण्ड तहका ९० प्रतिशत जनता केपी ओलीसँग छन् । जनता ताजा जनादेशको पक्षमा छन् । र, केपी ओलीको विकल्पमा प्रचण्ड वा माधव नेपालमात्र होइन, कांग्रेस पनि होइन भन्ने सन्देश दिने उद्देश्य हो ।’
आज १६ स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छौं । अनि, सबै जुलुस दरबारको मुख्य सडकमा मुख्यसभाका दर्शकहरु बस्छन् । केशरमहलदेखि जयनेपाल हलसम्म पनि बस्ने व्यवस्था छ । टी आकारमा भएको सबै सडक हामी कभर गर्छौ । लगभग यो सबै गरेर दुई लाख मानिस अट्छन् भन्ने हाम्रो अनुमान छ । तर, हाम्रो टार्गेट चाहिँ तीन लाख मानिस सहभागी गराउने हो । आज धेरै भव्य ढंगले सभा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
यो सभाको उद्देश्य भनेको प्रधानमन्त्री केपी ओलीले चाल्नुभएको पछिल्लो कदमलाई जनमत, जनसमर्थन छैन भन्नेजस्तो प्रचार गरियो । हामीबाट विभाजित भएको शक्तिले दुई तिहाई हामीसँग छ, केपी ओलीसँग एकतिहाइ पनि पुग्दैन भन्ने ढंगले जुन प्रचार गर्‍यो, वास्तवमा त्यस्तो होइन । साविक नेकपाको ९० प्रतिशत ग्राउण्ड चाहिँ हाम्रो पक्षमा छ भन्ने सन्देश दिन यो सभा गरिन लागेको हो ।

दोस्रो, वैशाख १७ र २७ मा घोषित निर्वाचनको माहोल बनाउन आम जनता निर्वाचनको पक्षमा लागे भन्ने सन्देश दिने हो । र तेस्रो, नेपाली जनताले सामाजिक सदभावको पक्षमा, सामाजिक न्यायको पक्षमा, राष्ट्रियताको पक्षमा, सुखसमृद्धिको पक्षमा, सुखी नेपाल र समृद्ध नेपालको पक्षमा प्रधानमन्त्रीले अगाडि बढाउनुभएको योजनालाई साथ दिएका छन्, अनि केपी ओलीको विकल्पमा प्रचण्ड वा माधव नेपाल मात्रै होइन, कांग्रेस पनि होइन भन्ने सन्देश दिने उद्देश्य हो । साभार : Onlinekhabar

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page