खेलकुद

रुपनगर चौकमा आयोजित क्यारेमबोर्ड प्रतियोगिता सम्पन्न : प्रथम पुरस्कार राशी सात हजार

कञ्चनरुप , फागुन १ गते । खेलकुदको विकास बिना राष्ट्र अगाडि बढ्न नसक्ने भएकाले खेलकुदको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्रीले बताउनुभयो ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगर चौकमा आज शनिवार रुपनगर चौक बजार व्यवस्थापन समितिद्वारा आयोजित क्यारेमबोर्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
समाजको रुपान्तरण हुनुमा खेलकुद पनि एउटा अंग भएकाले खेलकुदको विकास गर्न आफू र वडा कार्यालयले सक्दो सहयोग गर्ने वडा अध्यक्ष खत्रीले बताउनुभयो ।

खेलको उद्घाटन गर्नुहुदै वडा अध्यक्ष देवी बहादुर खत्री

वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण यादव, जिल्ला विकास समितिका पूर्व जिल्ला विकास सदस्य रमेश खतिवडा , समाजसेवी शेराज खान, रामप्रसाद खतिवडा लगायतका वक्ताहरुले युवाहरुको विकासका लागि खेलकुद अपरिहार्य रहेका कारणले खेलकुदको विकासमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको थियो ।

प्रतियोगितामा दुई जनाका दरले १२ ग्रुपको सहभागिता रहेको थियो भने अफताव मियाँको ग्रुप प्रथम, गोपाल बिकको ग्रुप द्वितिय र रितेश दासको ग्रुप तृतिय भएका थिए । प्रथम हुनेलाई ७ हजार , द्वितिय हुनेलाई पाँच हजार र तृतिय हुनेलाई तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रम संचालन बजार व्यवस्थापन समितिका सचिव जैनुदिनले गर्नुभएको थियो भने वजार व्यवस्थापन समितिका अध्यक्ष भोला यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page