धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजदेखि शुरु

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजदेखि शुरु हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरू बताउँछन् ।
यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेन्डर अनुसार आज बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।
रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेन्डर अनुसार हिजरी संवत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठुलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठुलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्न आकाशतिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमानदारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सक्ने बताइएको छ ।
व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गई कुरानको केही भागका रुपमा नमाज पढ्ने गर्छन। एक महिनापछि व्रत समापनका अवसरमा पनि सामाजिक दूरी कायम गरेर इदुल फित्र मनाइने तयारी भइरहेको बताइएको छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।
देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास रहेको छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमा याचना गर्ने मुस्लिम समुदायको परम्परा छ । रासस

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page