स्वास्थ्य

बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत विद्यालयका किशोरीलाई आइरन चक्की वितरण

कञ्चनरुप (सप्तरी), बैशाख ९ गते । बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत कञ्चनरुप नगरपालिका वडा नं. १२ का विभिन्न विद्यालयहरुमा आइरन चक्की बितरण गरिएको छ ।
बिहिवार वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा आयोजित वितरण कार्यक्रममा पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरीले शंकर माध्यमिक विद्यालय रुपनगर, राष्ट्रिय आधारभूत विद्यालय बस्तीपुर र लिटिल फ्लावर इङ्गलिस बोर्डिङ्ग स्कुल रुपनगरका १० वर्ष माथी १९ वर्ष सम्म उमेरका किशोरीहरुलाई आइरन चक्की बितरण गरेको हो ।

शंकर मावि रुपनगरका पाँच सय ३७, आधारभूत विद्यालय बस्तीपुरका ७० र लिटिल फ्लावर रुपनगरका एकसय ६५ जना किशोरीहरुलाई सेवन गर्ने तरीका र यसको महत्वबारे चौधरीले प्रकाश पार्नुभयो ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले आइरन चक्कीको महत्त्वका बारेमा जानकारी गराउनुभएको थियो ।
यो चक्की हप्तामा एउटा लिने र प्रति व्यक्ति वरावर आठ हप्ता लिनुपर्दछ । तीनवटै विद्यालयका सात सय ७२ जनालाई सेवन गर्ने विधि अनुसार सात हजार पाँच सय ६० वटा आइरन चक्की दिइएको स्वास्थ्य शाखाका सह संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले जानकारी गराउनुभयो ।
नगरभित्रका सबै विद्यालयहरुमा आइरन चक्की वितरण गरिने स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादवले बताउनुभयो । कार्यक्रममा १२ नम्बर वडाका वडा सदस्यहरु, विद्यालयका प्रधानाध्यापकहरु, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वंयमसेविकाहरुको सहभागितामा किशोरीहरुलाई वितरण गर्ने गरी वडा अध्यक्ष खत्रीले प्रधानाध्यापकहरुलाई आइरन चक्की हस्तान्त्रण गर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page