समाचार

सप्तकोसी नगरपालिकाको अत्यावश्यक बाहेक सम्पूर्ण सेवा वैशाख मसान्तसम्म बन्द

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) ।
सप्तरीको सप्तकोसी नगरपालिकाले आज एक सूचना जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू वैशाख मसान्त सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर कोरोनाको नयाँ भेरियन्ट सङ्क्रमण बढ्दो क्रममा रहेको सन्दर्भ उल्लेख गर्दै नगरपालिकाबाट दिने अति आवश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने सूचनामा उल्लेख गरेको छ ।
सूचनामा भनिएको छ, कोरोनाको नयाँ भेरियन्ट सङ्क्रमण बढ्दो क्रममा रहेकाले सप्तकोसी नगरपालिका क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा देखिएको तथा थप जोखिमको अवस्था रही रहेको सन्दर्भमा नगरपालिकाको आपतकालीन कार्य सञ्चालन समितिको आज मंगलबार बसेको बैठकको निर्णय अनुसार सप्तकोशी नगरपालिकाको कार्यालय तथा वडा कार्यालयहरूबाट वैशाख मसान्त सम्मका लागि अति आवश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको जनाएको छ ।
साथै नगरपालिका अन्तर्गत स्वास्थ्य शाखा (स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्था) र सरसफाइसँग सम्बन्धित सम्पूर्ण सेवाहरू नियमित रहने समेत सूचनामा उल्लेख गरिएको छ ।
यसबाट नगरबासी तथा सेवा ग्राहीमा पर्न गएको असुविधा प्रति नगरपालिका क्षमा प्रार्थी रहेको सूचनामा उल्लेख छ।


   

Add Comment

Click here to post a comment

You cannot copy content of this page