समाचार

सप्तरीका शहरी (बजार) क्षेत्रमा शनिबारदेखि निषेधाज्ञा लगाउने निर्णय

कञ्चनरुप (सप्तरी) । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढदै गएपछि सप्तरी जिल्लामा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ । वैशाख २५ गते शनिबार राति १२ बजेदेखि लागू हुने गरी जिल्लाको शहरी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बिहीबार बसेको बैठकले जिल्लाका सम्पूर्ण शहरी क्षेत्रमा बैशाख २५ गतेदखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।
जिल्लामा कोभिड संक्रमण दिनानुदिन बढ्दै गएकोले जिल्लाका राजविराज, कञ्चनपुर, फत्तेपुर, महुली, हनुमाननगर, भारदह, बरमझिया, तोपा, वीरेन्द्र बजार, रुपनी, कठौना , कल्याणपुर, खर्चुहिया, कडरबना, पातो, बोदेबसाइन, सखडा लगायतका बजार क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । उक्त अवधि भित्र अत्यावश्यक सेवामा संचालन हुने सवारी साधन ,ढुवानी कार्यमा प्रयोग हुने निर्माण कार्यमा प्रयोग हुने ढुवानी साधन प्रयोग गर्न पाइने छ ।
त्यसैगरी बैठकले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन स्थानीय तहले गर्ने निर्णय गर्दै संक्रमित बढे निश्चित क्षेत्रलाई सिल गर्ने अधिकार समेत स्थानीय तह र स्थानीय प्रहरीलाई दिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
बैठकले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक बन्द गरेर अस्पतालमै सेवा दिन भनिएको छ । निजी क्लिनिक सञ्‍चालन गर्ने अन्य चिकित्सकलाई पनि भीडभाड नगरी सञ्‍चालन गर्न बैठकले भनेको छ ।
जिल्लामा रहेको यूनिक र छिन्नमस्ता अस्पताललाई ५ दिनभित्र कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाउन बैठकले भनेको छ भने प्रत्येक स्थानीय तहलाई कम्तीमा २० बेडको आइसोलेसजन सञ्‍चालन गर्न भनिएको प्रजिअ पोखरेलले बताउनुभयो ।
जिल्लामा संचालित एम्बुलेन्सलाई यस संकटको अवस्थामा नियमित तथा सहजरुपमा संचालन गर्न सम्बन्धित एम्बुलेन्स व्यवसायीलाई अनुरोध गर्ने तथा एम्बुलेन्सको दुरुपयोग भए, बढी रकम लिए वा बिरामीलाई अस्पताल पुर्याउन नमानेमा सम्बन्धित एम्बुलेन्स धनी र एम्बुलेन्लाई प्रचलित कानून अनुसार कारवाही गर्ने समेत निर्णय भएको जनाएको छ ।
कोभिड १९ को संक्रमण व्यवस्थापन गर्न नेपाल सरकारद्वारा निर्धारित मापदण्ड र क्वाइरेन्टाइन तथा आइशोलेशन व्यवस्थापन भए नभएको अनुगमन गर्न सबै स्थानीय तहको उप प्रमुखहरुको संयोजकत्वमा २०७८।०१।२१ गते गठित अनुगमन समितिलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।
साईकृष्णा अस्पतालमा रहेको आइशोलेशन केन्द्रमा खानेपानी तथा सरसफाइ सम्बन्धी गर्नुपर्ने आवश्यक कार्य तथा सामाग्रीको व्यवस्थापनको लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, राजबिराजलाई अनुरोध गर्ने निर्णय समेत गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
जिल्लामा बुधबारसम्म कोरोना संक्रमितको संख्या २ सय २७ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page