समाचार

प्रधानमन्त्रीद्वारा इस्लाम समुदायको पवित्र पर्व ईदुल फित्रको अवसरमा शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम समुदायको पवित्र पर्व ईदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
अरवी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ र यस महिनाभर इस्लाम समुदायले बस्ने ब्रतलाई रोजा भनिन्छ । रमदान अवधीभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि यस पर्वको समापन गर्ने चलन छ । अरवी भाषामा ईदको अर्थ खुशी र फित्रको अर्थ दान हुनजान्छ । ईद पर्वमा ईदगाह (खाली मैदान) वा ईदगाह नभएका ठाउँमा मस्जिदमा तराबी (नमाज) पढ्ने चलन छ ।
यसै दिन गरिव र दीनदुःखीहरुलाई फित्र (दान) दिने चलन पनि इस्लाम समुदायमा छ । मुस्लिम समुदायमा वार्षिक कमाइको साढे दुई प्रतिशत दान गर्नै पर्ने नियमलाई अरवी भाषामा जकाव भन्ने गरिएको छ ।
एक महिनासम्म हरेक दिन सूर्यास्त नहुञ्जेल उपवास बसी मनाइने यस पर्वको अन्तिम दिन चन्द्रमाको दर्शनपछि आफन्त, साथीभाइ र परिवारजन बसेर मीठा खानेकुरा खाई ईदुल फित्र मनाउने चलन छ ।
नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश हो । यस्ता विशेषताहरु यहाँ मौलिक पूँजीको रुपमा रहेका छन्‌ । एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ । विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन्‌ । विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस देशमा सम्मानित र संरक्षित छन्‌ । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।
यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल(सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौं ।
विगत डेढ वर्षदेखि हामी विश्वब्यापी संकटका रुपमा कोभिड १९ भाइरसको महामारी सामना गरिरहेका छौं । महामारीलाई रोक्ने हाम्रो अथक प्रयत्नका वावजुद यस महाव्याधिका कारण धेरै दिदीबहिनी दाजुभाइहरुले ज्यान गुमाइसक्नु भएको छ । उहाँहरुप्रति म हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ र भाइरस संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ । यस विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित तवरले चार्डपर्व मनाउन पनि आहवान गर्नुभएको छ ।
अन्त्यमा, रमदानको रोजा पूरा गरी ईदुल फित्र मनाइरहनु भएका इस्लामिक समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पुनः हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page