समाचार

सप्तरीको कञ्चनरुप नगरपालिकाका सबै वडा शिल गर्ने निर्णय

कञ्चनरुप (सप्तरी), ३१ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिकाका सबै वडालाई शिल गर्ने निर्णय गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै आज राजविराजमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।
नगरपालिकामा संक्रमण दर बढ्दो देखिएकोले सबै वडाहरु सिल गरेर आवतजावतमा नियन्त्रण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

त्यस्तै आजै कञ्चनरुप नगरपालिकाले समेत एक सूचना जारी गर्दै कोभिड १९ कोरोना भाईरसको दोश्रो भेरिएन्टको संक्रमणबाट सप्तरी जिल्ला भरीको नगरपालिका मध्ये कञ्चनरुप नगरपालिका सवभन्दा वढी सक्रमित भई मृत्यू हुने संख्या समेत वढी सकेकोले रोकथाम तथा नियन्त्रणका लागि कञ्चनरुप नगरपालिका क्षेत्रलाई शील गर्ने निर्णय गरेको छ ।
यस नगर क्षेत्रभित्रका पसल, हाट बजार, गुद्री, अन्य व्यवसाय बन्द गरी मानिसहरुको आवत जावत समेतमा अर्को सूचना जारी नभएसम्मको लागि रोक लगाईएको व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।
साथै संक्रमित व्यक्तिहरु र निजको परिवारका अन्य सदस्यहरु समेत स्वास्थ्य मापदण्डका उपायहरु अवलम्बन्न गरी आआपनो घर दरबाजा शील राखी सक्रमण तथा रोकथाम कार्यमा नियन्त्रण गर्न सहयोग गरी दिनु हुन नगरपालिकाले अनुरोध समेत गरेको छ ।
सूचनामा भनिएको छ अटेर गरी बजार व्यवसाय हाट बजार जस्ता खोल्ने कार्यमा संलग्न भएको पाईएमा कानून वमोजिम कारबाही हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिन्छ ।

कञ्चनरुप नगरपालिकामा बिहीबार ४८ जनाको पीसीआर परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमित पाइएको छ । यो सँगै कञ्चनरुप नगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय २५ जना पुगेको छ ।
संक्रमित मध्ये सबभन्दा बढी कञ्चनरुप–८ का ७५ जना रहेका छन् । यस नगरपालिकाको वडा नम्बर एक बाहेक सबै वडामा कोरोना संक्रमित रहेको कञ्चनरुप स्वास्थ्य शाखाले जानकारी दिएको छ । बिहीबारमात्रै चार जनाको मृत्यु भएसँगै यस नगरमा कोरोनाको दोस्रो लहरमा पाँच जनाले ज्यान गुमाइसकेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page