समाचार

अक्सिजनको अभाव हुन थालेपछि सप्तरीमै अक्सिजन ग्याँस प्लान्ट निर्माण गरिने

राजविराज । दोस्रो लहरको कोरोना सङ्क्रमणका बिरामी दैनिक बढ्दै गएपछि अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि सप्तरी जिल्लामै अक्सिजन ग्याँस प्लान्ट निर्माण गरिने भएको छ ।
पालिका प्रमुखहरू समेत सहभागी जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीको शनिवार सम्पन्न बैठकले सदरमुकामको निजी छिन्नमस्ता अस्पतालमा अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको हो ।
१८ वटै पालिकामा वैशाख ३ गते कोरोना राहत तथा विपद् व्यवस्थापन कोष गठन गर्ने र त्यसमा प्रत्येक स्थानीय तहबाट रकम जम्मा गर्न पत्राचार गरिएकोमा हालसम्म केही स्थानीय तहबाट मात्र प्राप्त हुन आएकाले बाँकी स्थानीय तहबाट कोषमा यथाशीघ्र रकम जम्मा गर्न भनिएको छ ।

उक्त कोषमा जम्मा भएको रकमले अक्सिजन प्लान्ट सञ्चालनका लागि छिन्नमस्ता अस्पताललाई ३० लाख सोधभर्ना हुने गरी हाललाई उपलब्ध गराउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना संक्रमितको उपचारका लागि छिन्नमस्ता अस्पतालले २० एचडियुसहित ५० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।
यस्तै जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला समन्वय समितिको बैठकबाट भएको निर्णय अनुसार स्थानीय तहले क्वारेन्टिन र आइसोलेसन केन्द्र तयार नगरेको भए अबिलम्ब तयार गर्ने, नेपाल सरकारबाट घोषित ५, १० र १५ बेडको अस्पताल कुन अवस्थामा छ त्यसको तयारीको विषयमा जिल्ला संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउने निर्णय समेत जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको छ ।
त्यसैगरी सरकारको निर्णय अनुसार १० दिनपछि संक्रमण नसर्ने सम्भावना रहेकाले अस्पतालमा भर्ना भएकालाई १० दिनसम्म उपचार गरेपछि तीन दिनसम्म लक्षण नदेखिएमा होम आइसोलेसनमा पठाउने निर्णय समेत भएको छ । आइसोलेसन र क्वारेन्टिनमा १४ दिनसम्म बसिसकेकालाई दोस्रो पीसीआर नगराइ होम आइसोलेसनमा पठाउने निर्णय पनि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको छ ।
हाल सप्तरीमा कोरोना संक्रमितको सङ्ख्या सात सय नाघेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। निमित्त प्रमुख दुनियालाल यादवका अनुसार सप्तरीमा कोभिड–१९ को दोस्रो लहरमा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले मृत्यु हुनेको सङ्ख्या ६३ पुगेको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page