स्वास्थ्य

कञ्चनरुपका दुई सहित सप्तरीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

कञ्चनरुप (सप्तरी), जेठ ३ गते । कञ्चनरुपका दुई सहित सप्तरीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिकाका वडा नं. –३ बरमझियाका ६५ वर्षीय पुरुषको गएराती १ः५५ मा राजविराज स्थित रहेको छिन्नमस्ता अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको छिन्नमस्ता अस्पतालका इन्चार्ज मनु झाले जानकारी दिनुभयो । उनी कोरोना संक्रमित भएर वैशाख ३१ गते देखि अस्पतालमा भर्ना भई उपचाररत थिए ।
त्यस्तै सोही अस्पतालमा बिष्णपुर गाउँपालिका –१ का ७० वर्षीय पुरुषको पनि आज बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी पनि वैशाख ३१ गते देखि छिन्नमस्ता अस्पतालमा उपचाररत थिए । उनको आज उपचारकै क्रममा मृत्यु भएको झाले बताउनु भयो ।
त्यसैगरी कोरोना संक्रमणबाट कञ्चनरुप –९ का ४३ वर्षीय पुरुषको आज बिहान नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको छ । उनी तीन दिनदेखि नोबेल अस्पतालमा उपचाररत थिए र उनको उपचारकै क्रममा आज (सोमबार) बिहान ९ बजे मृत्यु भएको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page