समाचार

सप्तरीमा परिवार खेत गएका बेला करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु

कञ्चनरुप (सप्तरी) , १५ असार । सप्तरीमा परिवार खेत गएका बेला करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको राजविराज नगरपालिका–१० कमलपुरका शिवनन्दन खंगका ६ वर्षीय छोरो सचिन्द्र भनिने अनुज कुमार खंगको करेन्ट लागेर आज मंगलबार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घरका सदस्य धान रोप्न गएको बेला बालकलाई घरको पश्चिम रहेको बिजुलीको नाङ्गो तारमा करेन्ट लागेको हो । करेन्ट लागेको गाउँलेले थाहा पाएर होहल्ला गर्दै तत्कालै बिजुलीको लाइन काटेर बालकलाई छुटाए ।
उनलाई तुरुन्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइयो । अस्पतालका चिकित्सकले बालकलाई चेकजाँच गरी मृत घोषणा गरेको मृतकका हजुरबुवा बलराम खंगले बताए । मृतक बालकको शव पोस्मार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा राखिएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page