समाचार

स्वास्थ्यलाई प्रभाव पार्ने व्यापारीहरुको लापरवाही र मनोमानीमाथि निगरानी गर्नुपर्ने ;उपप्रमुख झा

राजविराज , असार १५ गते । राजविराज नगरपालिकाका उपप्रमुख साधना झाले सामान्य ठानेर वेवास्ता गरिने बानीमा सुधार गर्न आग्रह गर्नुभयो ।
राजविराजमा आयोजित एक कार्यक्रममा झाले स्वास्थ्यलाई प्रभाव पार्ने व्यापारीहरुको लापरवाही र मनोमानीमाथि निगरानी गर्नुपर्नेमा जोड दिनुहुँदै सो कुरा बताउनु भएको हो ।
मानव अधिकारको मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यद्वारा अनौपचारिक क्षेत्र सेवा केन्द्रले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको प्रभावकारीता र जिल्लाको मानव अधिकारको अवस्थाका सम्बन्धमा भएको अनुगमनका क्रममा उपप्रमुख झाले मानव अधिकारको पक्षमा समन्वय र सहकार्यमा स्वास्थ्य उपचार, उद्धार, राहतका विभिन्न काम भएको जानकारी दिनुभयो ।

मानव अधिकार आयोग प्रदेश २ कार्यालयका संयोजक विरबहादुर मगरले मानवअधिकारकर्मीहरुले अप्ठ्यारो बेलामा झनै सक्रिय हुनुपर्ने बताउनु भयो । मानव अधिकार रक्षकहरु प्राप्तिभन्दा प्रदान गर्न तत्पर रहनुपर्ने बताउनु हुँदै उहाँले कुनै पनि अधिकारको हनन नहुने कुरामा निगरानी राख्नुपर्ने बताउनु भयो । एउटा अधिकारको हननले अर्को अधिकारलाई पनि प्रभावमा पार्ने भन्नुहुँदै मगरले शिक्षाको अधिकारबाट वञ्चित हुँदा अन्य धेरै अधिकारबाट विमुख हुने अवस्था आउने बताउनु भयो ।
राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदनकुमार थापाले नगरपालिकाले छुट्याएको बजेट वास्तविक लक्षित वर्गसम्म पुगे–नपुगेकोबारे निगरानी गर्न र सुझाव दिन समूहलाई आग्रह गर्नुभयो ।
राजविराज नगरपालिकामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था, मानवअधिकार सम्बन्धी नीति तथा कार्यक्रम र बजेट, सेवा प्रवाहको अवस्थाका सम्बन्धमा समेत अन्तरक्रिया भएको छ ।
मानवअधिकार निगरानी समूहले वैठक खर्च वापतको रकम गरिब तथा असहाय महिलाको घर निर्माणमा, आगलागी पीडित असहाय दलित महिलालाई र उपचारका लागि गरिब महिलालाई प्रदान गरेर प्रेरणादायी काम गरेको सहभागीहरुले बताउनु भयो ।
राजविराजमा ०७६ असोज ६ गते मानवअधिकार निगरानी समूह गठन पश्चात शिक्षा, स्वास्थ्य, खाद्य, आवासको अधिकार सम्बन्धमा अन्तरक्रिया, अस्पताल र बिद्यालयको अनुगमनलगायत जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको इन्सेकका प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।

यसैगरी बालअधिकार चेतना समूह गठन गरी विद्यार्थीहरुबीच अभिमुखिकरण, बक्तृत्वकला, निबन्ध प्रतियोगिताहरु, शिक्षक, बिद्यार्थी र अभिभावकबीच अन्तरक्रिया, कृषि कार्यालयसँग छलफल, मानवअधिकार र कोभिड–१९ बारे जनचेतनामूलक विभिन्न कार्यक्रममा समन्वय र सहकार्य गर्दै आएको सहभागीहरुले बताउनु भयो ।
मानवअधिकार निगरानी समूह राजविराजका अध्यक्ष रघबुर साहको अध्यक्षता र नगर प्रमुख शम्भुप्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इन्सेक सदस्य बैद्यनाथ झा, इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य कैलाश दास, परियोजना प्रदेश २ का फोकल पर्सन बरुण बस्याल, निगरानी समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page