समाचार

प्रधानमन्त्री ओलीद्वारा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास

कञ्चनरुप (सप्तरी), २२ असार । सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीको सदरमुकाम राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट आज (मंगलबार) शिलान्यास गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै हुने बताउनु भएको छ । उहाँले भवन निर्माणको काम छिटै र गुणस्तरीय रुपमा सम्पन्न हुने बताउनुभयो ।

जग्गा प्राप्त भइसकेको, डिजाइन बनिसकेको तथा बजेटको पनि व्यवस्था भइसकेकाले काम चाँडै सम्पन्न हुने उहाँले बताउनुभयो । यो काममा स्थानीय पालिका, जनप्रतिनिधि र आम जनताको सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने समेत बताउनुभयो ।

साथै तराई मधेसको बिकासमा सबैलाई साथ र सहयोग गर्न आग्रह गर्दै बिकासमा हामी पछाडि पर्नुहुदैन भनेर सन्देश समेत दिनुभयो ।
शिलान्यास भएसँगै यसै वर्ष रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपीआर तयार हुनेछ र अन्य आवश्यक सम्पुर्ण कामकाजहरु पनि अगाडि बढ्ने जनाइएको छ ।

कुल ११ अर्ब ९८ करोडको अनुमानित लागतमा ६२ विघा जग्गामा प्रतिष्ठान निर्माण हुन लागेएको हो ।

प्रदेश २ को सभामा प्रधानमन्त्री ओलीले गरेको प्रतिबद्धताअनुरुप २०७५ पुस २३ गतेको संघीय मन्त्रिपरिषद्को बैठकले सप्तरीमा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो। 
मन्त्रिपरिषद्ले निर्णय गरेको लामो समयसम्म जग्गाको स्वामित्व विवादका कारण प्रतिष्ठान निर्माणको काम अघि बढन सकेको थिएन्। जग्गा विवाद समाधान भई पूर्वाधार निर्माणका लागि राजविराज नगरपालिका-१०, स्थित बिरौलको ६१ बिघा ६ कठ्ठा जग्गा जेठ ३१ गते प्राप्त भएपछि शिलान्यास गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको स्थापनासँगै सप्तरी जिल्ला शिक्षा र स्वास्थ्य क्षेत्रको केन्द्र बन्ने बताए। गुणस्तरीय शिक्षा र स्वास्थ्यको अवसरले आर्थिक गतिविधि तीव्र हुनुका साथै पर्यटकिय गन्तव्य बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रम ओलीले भन्नुभयो(‘सप्तरीमा आजसम्मकै सर्वाधिक ठूलो परियोजनाको स्थापनाले शिक्षा र स्वास्थ्य प्राप्त गर्ने स्थानको रुपमा विकास हुनेछ।’
हिमाल, पहाड, तराई, पूर्वदेखि पश्चिम सबै क्षेत्रको विकास तथा सबै जाती, भाषा, धर्म, लिङ्ग, वर्गको समस्या समाधानमा सरकारले काम गरिरहेको बताउँदै उहाँले सबै मिलेर गरिबी, पछौटेपन हटाउनु पर्ने बताउनुभयो । कुनै पनि भ्रममा परेर दिशाबिहीन भएर देशको विकास उन्नतीमा आफूलाई पछाडि पार्न नहुने प्रम ओलीले बताउनुभयो।

प्रतिष्ठानले रोजगारीको अवसरहरु सिर्जना गर्नुको साथै आर्थिक क्रियाकलाप पनि बढ्ने बताउनुभएको प्रम ओलीले यसले विकासप्रति विश्वास बढाएको बताउनुभयो । राजविराज रुपनी सडकको विस्तार, औद्योगिक क्षेत्रको विकास, पुरातात्विक महत्वका ऐतिहासिक मठ, मन्दिर, धरोहरको संरक्षण, सीमा सुरक्षा, कोभिडविरुद्ध खोपको व्यवस्था, डुबानबाट बचाउने कार्य सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

डा. रोहित पोखरेल

कूल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम पाँच वर्षभित्र सम्पन्न हुने प्रतिष्ठान पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा. रोहित पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, मधेश आयोगकी सदस्य आभासेतु सिंह, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, नेकपा एमालेका केन्द्रीय सदस्य सुखराम यादव, कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्र , प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, राजविराज नगरपालिकाकी उप–मेयर साधन झा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली लगायतको उपस्थिती रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page