समाचार समाज

छिन्नमस्ता भगवतीको चोरी भएको चाँदीको मुकुट सहित एक पक्राउ

कञ्चनरुप (सप्तरी), १८ साउन । सप्तरीको छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको मन्दिरबाट भगवतिको मुकुट चोरी गर्ने युवक चाँदीको मुकुट सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ मझाउ टोलका राजेश कुमार मण्डल रहेका छन् ।
आइतवार साँझ करिब सवाँ ७ बजेतिर मुकुट चोरी भएको थियो । भगवतीको चाँदीको मुकुट चोरी भएपछि व्यापक प्रहरी परिचालन समेत गरिएको थियो ।
पिठाधिश महन्थ ठाकुरका अनुसार आइतबार राति करिब ७ बजे सरसफाइका लागि मन्दिरका पुजारीहरू पोखरीमा पानी लिन गएको बेला मुकुट चोरी भएको थियो। चोरी गरेर मुकुट घर लगेका मण्डलले बिहान आफैंले भगवतीको मुकुट ल्याएको र गाउँमा मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिंडेपछि प्रहरीलाई खबर गरिएको स्थानीय जयप्रकाश यादवले बताए। चाँदीको मुकुट, सुनको टिका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको एसपी राजेन्द्रप्रसाद धमलाले बताए। एसपी धमलाका अनुसार चोरीको मुकुटसहित पक्राउ परेका मण्डलको मानसिक स्वास्थ्य ठिक नरहेको जस्तो व्यवहार गरिरहेका छन्।
चोरीको घटना बाहिरिए पछि आइतबार राति नै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक धमलासहितको टोली घटनास्थल पुगेका थिए। चोरीको अनुसन्धानका लागि राति नै सीमा नाकालाई सिल गरी ठूलो सङ्ख्यामा प्रहरी परिचालित गरिएको थियो। मन्दिरमा जडान गरिएको सिसिटिभीको तार काटिएको र मन्दिरको संरक्षणमा लापरवाही भएको भन्दै मन्दिरमा राति नै भेला भएका गाउँलेहरूले चर्को विरोध गरेका छन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page