समाज

सङ्खुवासभा सामूहिक हत्याकाण्डमा संलग्न छिमेकी २६ वर्षीय युवक पक्राउ

सङ्खुवासभा । प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सोहि ठाउँका छिमेकी नातामा भतिजा पर्ने २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
चार दिनअघि मादी नगरपालिका– १ उम्लिङ्गका तेजबहादुर कार्कीसहित उनकै परिवारका ६ जनाको सामुहिक हत्या भएको थियो ।
घटनामा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृतक तेजबहादुर दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए । तर बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या भएको खुलेको प्रहरीले बताएको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन् ।
कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ ।
प्रहरीका अनुसार लोकबहादुरको घर नजिकैबाट हत्यामा प्रयोग भएको हतियार र रगतले लतपतिएको कपडा बरामद भएको छ ।
लोकबहादुरले दिएको बयानअनुसार मृतक तेजबहादुर उनलाई हेप्ने गर्थे, नमिठो बोल्थे। एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन्। गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भयो।
आमाको मृत्युमा पनि तेजबहादुरको हात रहेको उनको बुझाइ रहेछ। त्यही रिसले हत्या गरेको पाइएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page