कृषि

कञ्चनरुप नगरपालिकाद्वारा किसानहरुलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण

कञ्चनरुप(सप्तरी) , २१ मंसिर । सप्तरीको कञ्चनरुप नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरेको छ ।
वर्षायाममा अविरल पानी र हावाहुरी आई किसानहरुले लगाएको धानबालीमा ठुलो नोक्सान (क्षति) भएकाले किसानलाई समयमै गहुँको खेती गर्न सहज होस् भनेर नगरपालिकाले समयमै सहुलियत दरमा गहुँको बीउ वितरण गरेको नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो । नगरपालिकाले किसानहरुको पिरमर्कालाई बुझी काम गरिरहेको समेत उहाँले बताउनुभयो ।

नगरपालिकाले पचास प्रतिशत अनुदानमा किसानहरुलाई गहुँको बीउ वितरण गरेर किसानहरुलाई ठुलो राहत भएको बताउँनुहुन्छ कञ्चनरुप ८ की किसान लक्ष्मी देवी राउत ।
अहिले बजारमा ७० रुपियाँ किलो गहुँको बीउ बिक्रि भइरहेको छ । किसानहरुको पिरमर्कालाई बुझी नगरपालिकाले सहुलियत दरमा १३ रुपियाँ किलो गहुँको बीउ वितरण गरेर किसानहरुलाई ठुलो सहुलियत दिएकोमा खुशी व्यक्त गर्नुहुन्छ कञ्चनरुप ८ का किसान राजकुमार राउत ।
नगरपालिकालाई बदनाम गराउन बाहिर नराम्रो हल्ला फिजाउने गरेकोमा राउत दुख व्यक्त गर्नुहुन्छ । नगरपालिकामा जनप्रतिविधि आएदेखि किसानहरुको हितमा काम गरिरहेको उहाँ बताउनु हुन्छ ।

कञ्चनरुप ३ बरमझियाकी किसान संजुदेवी सदा भन्नु हुन्छ नगरपालिकाले जहिले पनि किसानको हितमा काम गरिरहेको छ । बेलाबेलामा तरकारीको बीउ, धान, गहुँको बीउ किसानहरुलाई सहुलियत दरमा उपलब्ध गराइरहेको उहाँ बताउनु हुन्छ ।
हामी साना किसानहरुलाई बेलाबेलामा विभिन्न किसिमका बीउबिजन तथा किटनाशक औषधीहरु सहुलियत दरमा उपलब्ध गराएकोमा खुशी व्यक्त गर्नुहुन्छ कञ्चनरुप ४ जगतपुरकी किसान रेशमी देवी पासवान ।

४० केजीको बोराको ढुवानी सहित २६ सय रुपियाँमा खरिद गरी किसानहरु १३ सय रुपियाँ लिई वितरण गरिएको कृषि विकास शाखाका संयोजक बेचन सढोक यादवले जानकारी गराउनु भयो । दुई पटक गरी ७ सय ७५ बोरा गहुँको बीउ खरिद गरी ल्याएर किसानहरुलाई वितरण गरिएको उहाँले बताउनु भयो ।
किसानहरुलाई मलखाधको समेत समस्या नहोस भनेर मलखाधको समेत राम्रो प्रबन्ध मिलाइएको यादवले जानकारी गराउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page