राजनीति

प्रदेश २ मा उपेन्द्र र महन्थको दोकान अब चल्नेवाला छैन : नेता प्याकुरेल

बिरेन्द्र बजार, २९ पुस । नेपाल कम्युनिस्ट पार्टी एमालेका पोलिटब्युरो सदस्य एवम् राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलले प्रदेश २ मा उपेन्द्र यादव र महन्थ ठाकुरहरुकोहरुको दोकान अब उप्रान्त नचल्ने दाबी गरेका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित पर्यटकीय क्षेत्र धरापानीमा बिहीबार आयोजित प्रेस चौतारी नेपाल सप्तरीको सातौं जिल्ला अधिबेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रम बोल्दै नेता प्याकुरेलले मधेशको लोपप्रिय नेता एमाले अध्यक्ष केपी ओली भएकोले उपेन्द्र र महन्थहरुलाई मधेशी जनताले विश्वास गर्न छोडेको बताए । मधेशका जनता एमाले र केपी ओलीलाई नेतृत्व दिन आतुर छन् नेता प्याकुरेलले भने, सम्प्रदायिकता भड्काएर नेता बन्ने जमाना गयो, मधेशी जनता सचेत भईसके अब उपेन्द्र र महन्थहरुको दोकान चल्नेवाला छैन ।

नेता प्याकुरेलले जनादेश एमालेको पक्षमा भएपनि नेपाली पत्रकारिता जनादेश विपरीत रहेको टिप्पणी गरे । नेपालका पत्रकारिता जगतले जनदेशको कदर गर्न नसकेकोले देश अराजकता तथा असफलतातर्फ धकेलिएको भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता प्याकुरेलले सत्यतथ्य र जनभावना बोमोजिम पत्रकारहरु समेत रुपान्तरण हुनुपर्नेमा जोड दिए ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज दिवाकर देवकोटाले सामाजिक विकास र आर्थिक उन्नतिलाई टेवा पुग्नेतर्फ पत्रकारहरुलाई कलम चलाउन आग्रह गरे । एमाले केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला सह–ईन्चार्ज राज कुमार लेखीले अधिबेशनले पत्रकारहरुको हक अधिकार सुनिश्चित गर्ने नीति र नेतृत्व चयन होस् भनी शुभकामना व्यक्त गरे ।

प्रेस चौतारी नेपाल शाखा सप्तरीका अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष एवम् सल्लाहकार मनोहर पोखरेल, प्रदेश २ का अध्यक्ष फनी महत, कंचनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार मिश्रा, सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतम, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, नेकपा एमालेका सप्तरी अध्यक्ष ताराकान्त चौधरी, प्रेस मंच नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङ, प्रेस युनियनका कार्यबाहक अध्यक्ष बिनयलाल कर्ण, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष भगवती प्रसाद चौधरीले शुभकामना मनतव्य व्यक्त गरे ।
प्रेस चौधरी नेपालका सह–सचिव शिव आचार्यद्वारा संचालित कार्यक्रममा स्वागत भुपदेव मालीले गरे । अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page