समाचार

जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा मतदाता नामावली अद्यावधिक दाबी विरोध गर्न आह्वान

फोटो : बृजमान तामाङ
फोटो : बृजमान तामाङ

राजविराज, १५ फागुन । जिल्ला निर्वाचन कार्यालय सप्तरीले फागुन २० गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक दाबी विरोध गर्न आह्वान गरेको छ ।
आइतबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सप्तरी जिल्ला निर्वाचन अधिकृत रमेश कुमार जोशीले मतदाता नामावलीमा भएका त्रुटिहरूलाई सच्याउनका लागि मतदाता नामावली ऐन २०७३ को दफा १४, १५, १६ र १८ बमोजिम मतदाताहरूले फागुन २० गतेदेखि २६ गतेसम्म ७ दिन निवेदन दर्ता गराउन सक्ने जानकारी दिनुभयो ।
सप्तरी जिल्लामा हाल २ लाख ३ हजार ५ सय ६२ महिला, २ लाख २१ हजार १ सय २५ पुरुष र २२ जना तेश्रो लिङ्गी गरी जम्मा ४ लाख १३ हजार ८ सय ९२ जना मतदाताहरूको सङ्ख्या रहेकोमा ती मतदाताहरूको नामावलीमा केही त्रुटि भए, झुटो विवरण पेस गरी मतदाता परिचयपत्र प्राप्त गरेको भए अथवा नागरिकता त्याग गरेको मतदाताहरूले आफ्नो नामावली सच्याउनको लागि जिल्ला निर्वाचन कार्यालयमा अनिवार्य रुपमा निवेदन दिनुपर्ने बताउनुभयो ।
निर्वाचन अधिकृत जोशीले दाबी विरोधको लागि ७ दिनको समय निर्वाचन आयोगले दिए पनि विभिन्न शीर्षकमा फरक फरक समय तोकिएको बताउनुभयो ।
मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि मतदाताहरूले फागुन २०, २१ र २२ गते तीन दिन मात्रै निवेदन दिन पाउने व्यवस्था रहेको छ भने नागरिकता त्याग गरेकाहरूले आफ्नो मतदाता नामावलीबाट नाम हटाउनका लागि फागुन २०, २१, २२ र २३ गरी ४ दिनसम्म निवेदन दर्ता गराउन सकिने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
मतदाता परिचयपत्र नष्ट भएको वा हराएको अवस्थामा यही फागुन २० गतेसम्म सम्बन्धित वडाको सिफारिससहित निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने जनाएइको छ । कसैले झुटो विवरण पेस गरी मतदाता परिचय पत्र प्राप्त गरेको छ भने त्यसको लागि प्रमाणसहित मात्रै निवेदन दर्ता गराउनुपर्ने छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षता तथा राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजीत अन्तरक्रियामा एसपी अविनारायण काफ्ले लगायत विभिन्न पालिकाका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page