समाचार

सप्तरीको कञ्चनरुपमा ११ हजार राशीको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने

कञ्चनरुप (सप्तरी) । सप्तरीको कञ्चनरुपमा ११ हजार राशीको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
आज (सोमवार) राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सगरमाथा साहित्य परिषद्ले प्रतियोगिताबारे जानकारी गराउँदै सर्वोत्कृष्ट हुनेले ११ हजार रुपियाँ नगदसहित प्रथम पुरस्कार र प्रमाणपत्र पाउने जानकारी दिएको हो ।
कञ्चनरुप नगरपालिकाले सगरमाथा साहित्य परिषद्को संयोजनमा फागुन २५ गते सर्वाधिक राशीको जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।
परिषदका अध्यक्ष मनोहर कुमार पोखरेलका अनुसार यो जिल्लामै पहिलो पटक सबैभन्दा ठूलो राशीको पुरस्कारसहितको वक्तृत्वकला प्रतियोगिता हुन लागेको हो ।

यसैगरी द्वितीय हुनेलाई ८ हजार रुपियाँ र तृतीय हुनेलाई ५ हजार नगद रुपियाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । शान्तवना पुरस्कार २ जनाले जनही २÷२ हजार र ५ जनाले जनही १÷१ हजारका दरले समतामूलक शान्तवना पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा जिल्लाभरीका सबै शिक्षण संस्थाको सिफारिशमा कक्षा ९–१२ अध्ययनरत माध्यमिक बिद्यालय स्तरका १÷१ छात्र र छात्रा सहभागी गराइने छ ।
“मेरो सोचाइ र रोजाइका बाआमा”, “मैले खोजेको र रोजेको शिक्षक” तथा “म र मेरो मनोविज्ञान मैत्री विद्यालय” शिर्षकमा व्यावहारिक वक्तृत्वकला हुने पत्रकार सम्मेलनमा जनाइएको छ ।
पत्रकार सम्मेलनमा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले आजका विद्यार्थीको मनोभाव बुझ्ने र शिक्षा क्षेत्रको विकासका लागि सुझावहरू संकलन गर्ने मनसायले प्रतियोगितात्मक कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, विकास, सुशासनमा जिल्ला र प्रदेशमै आफ्नो नगरपालिका उत्कृष्ठबाट पुरस्कृत भएकोमा खुशी व्यक्त गर्नुभयो । असल कामका लागि साझा सोंच र प्रतिबद्धता आवश्यक रहेको समेत बताउनुभयो ।
शिक्षा, स्वास्थ्य र सुशासन स्थानीय तहसहित तीनै सरकारको उच्च प्राथमिकतामा नपरेसम्म मुलुकको विकास नहुने उहाँले दावी गर्नुभयो । सुशासन कायम नभएसम्म दातृ निकायबाट प्राप्त अनुदान सहयोग मागी खाने भाँडो हुने तर विकास नहुने नगर प्रमुख मिश्रले बताउनुभयो ।
नगर प्रमुख मिश्रले क्षमतावान विद्यार्थी उत्पादनको कमीतर्फ चिन्ता व्यक्त गर्दै कक्षा थपिए पनि स्थानीय तहले योग्य शिक्षक भर्ना गर्न पाउने अवस्था नरहेकोले बिद्यालयमा जनशक्तिको अभाव रहेको बताउनुभयो । सहमतिमा शिक्षक स्थान्तरण, सरुवा र भर्नामा मात्र सबैको ध्यान केन्द्रित रहेकोमा उहाँले गुणस्तरीय शिक्षाका लागि आवाज उठनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार सम्मेलनमा परिषद्का सल्लाहकार बैद्यनाथ यादव ,नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहित पत्रकारहरूको उपस्थिती रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page