खेलकुद

कञ्चनरुपमा प्रथम मेयर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा कञ्चनरुप १२ विजयी

उत्तम आचार्य /
कञ्चनरुप(सप्तरी), १५ चैत ।
सप्तरीको कञ्चनरुपमा मंगलबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
कञ्चनरुप नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कञ्चनरुप ३ स्थीत बरमझिया खेल मैदानमा प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७८ सुरु भएको हो ।
खेलकूदको विकास गर्ने उद्देश्यका साथ सुरु भएको उक्त प्रतियोगिताको नगर प्रमुख बसन्त कुमार मिश्रले रेफ्रीलाई बल प्रदान गरेर खेलको उद्घाटन गर्नुभयो।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख मिश्रले खेलाडीले सिकेका सीपलाई प्रयोग गरेर नगर ,जिल्ला तथा राष्ट्रिय स्तरमा आफ्नो नाम चिनाउन यस्ता खेलकूद प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताहरुले खेलाडी उत्पादन गर्न मदत पुग्ने बताउँदै खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गर्नुभयो ।

प्रमुख प्रशासकिय अधिकृत रेणुका साहले राष्ट्रको सम्मान बढाउने महत्वपूर्ण पक्ष भनेको खेल जगत् भएकाले यसको विकासका लागि नगरपालिका लागिपरेको बताउनु भयो।
खेलकुद विकास समिति सप्तरीका प्रमुख दिनेश भुजेलले खेल क्षेत्र पनि विकासको एउटा पाटो रहेकाले खेलकुदको विकास हुन आवश्यक रहेको बताउँदै खेलकुदले खेलाडीहरुको शारीरिक र मानसिक विकास हुने बताउनुभयो ।
यसैबीच उद्घाटन खेलमा कञ्चनरुप १२ विजयी भएको छ । कञ्चनरुप ६ र कञ्चनरुप १२ बीच भएको उद्घाटन खेलमा १ का बिरुद्ध ६ गोल अन्तरले कञ्चनरुप १२ विजयी भएको हो ।

पहिलो हाफको नौ मिनेटमा वडा नम्बर ६ ले आत्मघाति गोल गरेको थियो भने खेलको १६ मिनेटमा वडा नम्बर १२ का राजाराम मण्डलले एक गोल , २८ मिनेटमा रामकुमार सदाले १ गोल गरि पहिलो हापमा वडा नम्बर १२ लाई अग्रता दिलाए । खेलको दोस्रो हाफको ७ मिनेटमा वडा नम्बर १२ का अबताब अली, १६ मिनेटमा केवल खत्री, २१ मिनेटमा मनिष श्रेष्ठले समान एक÷एक गोल गरेर ६ गोलको अग्रता कायम गरे भने दोस्रो हाफको १३ मिनेटमा वडा नम्बर ६ का मो. हकिमले एक गोल गरेका थिए । बुधबारको खेल कञ्चनरुप चार र सात बीच हुनेछ ।
चैत २६ गतेसम्म संचालन हुने प्रतियोगितामा नगरभित्रका १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाईनल खेल चैत्र २६ गते हुनेछ । स्थानीय फुटबल टिम र खेलाडीको प्रवद्र्धनका लागि आयोजना गरिएको प्रतियोगीताका विजेताले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले ३० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने शिक्षा शाखाका संयोजक ललित नारायण यादवले जानकारी दिनुभयो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page