कृषि

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि सप्तकोशीका किसानहरु चिन्तित

फत्तेपुर, १५ जेठ । सप्तरीको सप्तकोसी नगरपालिकामा मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका छन् । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोटहरु सखाप भएका छन् ।
सप्तकोसी क्षेत्रमा भर्खरै हुर्कँदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेका हुन्।
नगरको वडा नम्बर १ फत्तेपुर, वडा नम्बर २ पर्सा, वडा नम्बर ३, सखुबनि, वडा नम्बर ४ बलार्दह, वडा नम्बर ५ गङ्गाजली लगायत क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन् । खेतमा लगाएको मकैमा फौजी किराको प्रकोपले मकैबाली नष्ट हुन थालेपछि यहाँका किसान समस्यामा परेका छन् ।
“मकैका बिरुवाका पात सबै फौजी किराले नष्ट बनायो, बिरुवा नै मर्न थाले”, सप्तकोसी १ का किसान राजकुमार चौधरीले बताउनुभयो ।
कृषि प्राविधिकको सल्लाह र सुझाव अनुसार आफूहरूले विभिन्न किटनाशक औषधि प्रयोग गरेपनि प्रकोप नियन्त्रणमा आउन नकसेको सप्तकोसी १० का किसान बिनोद पन्डित बताउनु हुन्छ । सप्तकोसी नगरपालिकाको ११ वटै वडामा लगाएको मकैबालीमा फौजी किराको प्रकोप बढ्न थालेको स्थानीय किसानहरुको गुनासो छ ।
मकैबालीमा दुई हप्तादेखि बिरुवाको पात तथा बोट फौजी किराले नष्ट गर्न थालेको छ । मकैबालीमा फौजी किराको प्रकोप देखा परेकोले यो वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ ।
बिगत केहि वर्षयता सप्तकोसी क्षेत्रमा फौजी किराको समस्या देखिएको हो । समस्या समाधानको लागि नगरपालिका,कृषि शाखा लगायत सम्बन्धित निकायबाट उचित पहल हुन नसक्दा किसान मर्कामा पर्दै आएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page