कञ्चनरुप (सप्तरी), १३ भदौ । जिल्ला निर्वाचन कार्यालय सप्तरीले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गर्न सूचना जारी गरेको छ ।
उक्त निर्वाचनमा सहभागी हुने मतदाताको नामावलीमा दावी विरोध गर्न र त्रुटी सच्याउनका लागि निर्वाचन कार्यालयले ५ दिने कार्यतालिकासहित सूचना जारी गरेको हो ।
निर्वाचन कार्यालयले भदौ १२ गते जिल्लाको सबै (१६४ वटा) वडा कार्यालयमा फोटो सहितको मतदाता नामावली प्रकाशन गरेको जनाएको छ । प्रकाशित नामावलीमा उल्लेख भएको नाममा त्रुटी भए, झुठो विवरण दिएर नाम समावेश गरेको भए, एक भन्दा बढी स्थानमा नाम समावेश भए जिल्ला निर्वाचन कार्यालय पुगेर भदौ १३ गतेदेखी १५ गतेसम्म सच्याउन र उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।
यसैगरी मतदाता नामावलीमा नाम समावेश भएको तर मृत्यु भईसकेको, नेपाली नागरिकता त्याग गरेको, बसाइँसराइ र विवाह गरी अन्यत्र गएको भए नाम हटाउनका लागि भदौ १३ गतेदेखि १६ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा सूचना दिन सक्ने गरी व्यवस्था मिलाएको जनाइएको छ ।
त्रुटी सच्याउन, उजुरी दिन, दावी विरोध गर्नका लागि प्रमाण आवश्यक पर्ने जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।














Add Comment