स्वास्थ्य

फार्मेसीमा फार्मासिस्टको व्यवस्था र औषधीको अनुगमन नहुँदा समस्या

राजविराज, ९ असोज । फार्मेसीमा फार्मासिस्टको व्यवस्था नहुँदा र औषधिको अनुगमन नहुँदा समस्या भएको भन्दै सरोकारवालाहरूले ध्यान दिनुपर्ने बताएका छन् ।
विश्व फार्मेसी दिवसको अवसरमा आज राजविराजमा आयोजित कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् । फार्मेसीहरूमा फार्मासिष्टभन्दा अन्य व्यक्तिले औषधि वितरण गरिरहेकाले त्यसले बिरामीलाई असर गर्ने गरेको र स्थानीय तह मातहतको स्वास्थ्य कार्यालयमा जाने औषधिहरुको अनुगमन नहुने गरेकाले गम्भीर बन्नुपर्ने सरोकारवालाहरुको भनाइ थियो ।
कार्यक्रममा उठेका गुनासोलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले मानव स्वास्थ्यमाथि खेलवाड गर्न नदिइने बताउनुभयो । अन्य व्यक्तिको प्रमाणपत्र राखेर भाँडामा समेत फार्मेसी चलाएको गुनासो आउने गरेकाले औषधि पसलहरुमा अनुगमन गरेर कारवाही गरिने उहाँले बताउनुभयो । औषधि संवेदनशील विषय भएको भन्नुहुँदै उहाँले सबै मिलेर लापरवाही गर्नेलाई निरुत्साहित गर्नुपर्ने समेत बताउनुभयो ।

चिकित्सकले दिएको सुझावअनुसार तालिमप्राप्त फामार्सिस्टले सही मात्रामा औषधि निर्धारण गर्न नसकदा मानव स्वास्थ्यलाई झनै जटिल पार्ने भएकाले फार्मासिस्टको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.रणजितकुमार झाले फार्मेसीहरुले चिकित्सकको अनुमति बिना औषधि वितरण गर्न नहुने बताउनु भयो । पछिल्लो समय फार्मेसी पढ्नेको क्रेज बढेकोले पढने विद्यार्थी र फार्मासिस्टहरुले फार्मेसीको महत्व बुझ्नुपर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेलले फर्मासिस्ट औषधि–बिक्रि वितरण गर्ने व्यक्ति मात्र नभएर औषधि उत्पादन, गुणस्तर कायम, औषधि कारखानाको निरीक्षण तथा सिफारिस, उत्पादित औषधिको भण्डारण तथा आपूर्ति लगायतका धेरै क्षेत्रमा काम गर्न सक्षम व्यक्ति भएको बताउनु भयो । जहाँ औषधि त्यहाँ फार्मासिस्ट हुनुपर्ने भए पनि अहिलेसम्म त्यस्तो व्यवस्था नहुँदा स्थानीय तह, विद्यालयदेखि विभिन्न कार्यालयमा औषधि वितरण, भण्डारणलगायतमा समस्या रहेको र म्याद गुज्रिन लागेको औषधि किन्ने गरिएको पोखरेलले बताउनु भयो ।

विश्वभरि मनाइने विश्व फार्मेसी दिवसमा ६ दशक भन्दा लामो समयदेखि राजविराजमा औषधि व्यवसाय गर्नुहुने जयश्री जनता डिस्पेन्सरीका संस्थापक मानमल काबरालाई सम्मान गरिएको छ । यस्तै रतन ड्रग इन्टरप्राइजेजका संस्थापक स्व. महाविर बैधलाई मरणोपरान्त सम्मान गरिएको छ ।
फार्मेसी संघ सप्तरीका अध्यक्ष सुजित झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व अध्यक्ष टुनटुन यादव, महासचिव दिनेश यादव, सदस्य सिद्धार्थ तातेड, खेलानन्द दास, नेपाल नसिंङ्ग संघ सप्तरीका अध्यक्ष लक्ष्मी चौधरी, नेपाल औषधि व्यवसायी संघ सप्तरीका महासचिव अजय झाले स्वागत तथा शुभकामना मन्तव्य राख्नु भयो ।
शुभकामना सभा अगाडि फर्मासिस्ट, औषधि व्यवसायी, युनिक कलेज र छिन्नमस्ता कलेजमा फार्मासिस्ट अध्ययनरत बिद्यार्थीहरुले नारा लगाउँदै राजविराज बजारमा प्रभात फेरी गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page