समाचार

सप्तरीमा बदर मत कम गर्न नमूना मतदान अभ्यास

राजविराज, २७ असोज । सप्तरीको राजविराजमा बदर मत कम गर्न बिहीबार नमूना मतदान अभ्यास गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनका लागि बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन सहयोगी समाजले नमूना मतदान अभ्यास गरेको हो ।
विभिन्न जिल्लामा नमूना मतदान र साक्षरता कार्यक्रम अन्तर्गत राजविराजमा कार्यक्रम गरिएको यौनिक तथा लैङ्गिक अल्पसँख्यकहरुको महासंघ नेपालका कार्यक्रम संयोजक सिमरन शेरचनले बताए । बदर मत कम गर्न र मतदानको महत्व बुझाउन प्रशिक्षणसँगै ‘नमूना मतदान’ अभ्यास गराएर सहभागीलाई गाउँघरमा सचेतना फैलाउन निर्देशन दिइएको उनले बताए ।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन, मतपत्र पट्याउन र मतपेटिकामा मत खसाल्न सिकाइएको थियो ।
प्रत्येक मतदाताले चार ओटा मतपत्रमा आफूले रुचाएको उम्मेदवार र दललाई मत खसाउन सिकेको सहभागी खडक नगरपालिका ६ की नन्दनी चौधरीले बताइन् ।

पहिलो हुने निर्वाचित हुनेतर्फ प्रतिनिधि सभा र प्रदेश सभाको छुटा छुट्टै मतपत्र र समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभाको छुटा छुट्टै मतपत्र गरी चार ओटा मतपत्रमा एक÷एक ओटा चुनाव चिन्हमा मतदान गर्नुपर्ने कुरा सिकेको कञ्चनरुप नगरपालिका ५ का विवेक विकले जानकारी दिए ।
प्रतिनिधिसभा र प्रदेशसभाको गठन, मतदानको महत्व, मनोनयन, मतदान र मतगणना प्रकृया, सदर र बदर मतका बारेमा सहजकर्ता सविन बुढाथोकीले प्रशिक्षण दिइन् । प्रशिक्षण पश्चात प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गरिएको छ ।
नमूना मतदानमा सहभागी ४० जनामध्ये पहिलो हुने निर्वाचित हुने मतदानमा ३ जनाको बदर भएको र समानुपातिकमा सत प्रतिशत सदर भएको स्थानीय परिचालक रोशन चौधरीले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page