मधेस प्रदेश समाचार

सप्तरीमा बहुविवाहको आरोप लागेका फरार आरोपित झा पक्राउ परे लगत्तै कारागार चलान

राजविराज, १४ जेठ । सप्तरीमा बहुविवाहको आरोप लागेका फरार आरोपित पक्राउ परे लगत्तै आइतबार कारागार चलान भएका छन् ।
सप्तरी जिल्ला अदालतका अनुसार पक्राउ परेका आरोपित सुनसरी इटहरी उपमहानगरपालिका–७ का ३९ वर्षीय रञ्जितकुमार झा पक्राउ परेलगत्तै पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेका हुन् ।
जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यको इजलाशले झा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको पीडित पक्षका अधिवक्ता डोमन साहले जानकारी दिए ।
झाकी श्रीमती ३६ वर्षीया बन्दनाकुमारी झाले श्रीमान रञ्जितविरुद्ध बहुविवाहको उजुरी दिएकी थिइन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीकी २८ वर्षीया दुर्गा झासँग २०७९ माघ ५ गते रञ्जितले विवाह गरेको थाहा पाएको भन्दै बन्दनाले उजुरी दिएकी थिइन् ।
बन्दनाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा गत फागुन १८ गते उजुरी दिएकी प्रहरीले जनाएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिरमा आरोपितहरुले बहुविवाह गरेको भन्दै पीडितले दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरुपले फागुन २० गते दर्ता गरेको थियो ।
जातिय परम्परा अनुसार ०६७ फागुन ६ गते विवाहिता पीडितकी नौ र ६ वर्षीया दुई छोरी छिन् ।
थप दाइजो ल्याउन दवाव दिई कुटपिट गर्दै यातना दिएपछि पीडित रौतहटको गौर नगरपालिका–१ बसतपुरस्थित माइत बस्दै आएकी छन् । जिल्ला अदालतबाट फागुन २१ गते आरोपितहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
अर्का आरोपित दुर्गा पक्राउ परेकी छैन् । आरोपित रञ्जितले भने श्रीमतीले झुठा उजुरी दिएको र आरोपित भनिएकी दुर्गा अर्कै मानिसको श्रीमती रहेको बताएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page