खेलकुद

एसपीएलको पाँचौ दिन :बजाज खडक वारियर्सको लगातार तेस्रो जित, छिन्नमस्ता २५ रनलेविजयी

कञ्चनरुप, ७ असार । सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको पाँचौ दिन बिहीबार सम्पन्न दुई खेलमा बजाज खडक वारियर्स र छिन्नमस्ता लायन विजयी भएका छन्।
पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न पहिलो खेलमा बजाज खडक वारियर्सले बलान बिहुल सुपर किंग्सलाई १ विकेटले पराजित गरेको छ। खडक वारियर्सको यो लगातार तेस्रो जित हो। बलान बिहुलले दिएको १४४ रनको लक्ष्य खडक वारियर्सले २ बल बाँकी छँदा ९ विकेट गुमाएर पुरा गर्‍यो।
बजाज खडक वारियर्सको तर्फबाट तेस्रो नम्बरमा ब्याटिंग गरेका सन्दिप रजालीले सर्वाधिक ८१ रन बनाए। प्लेयर अफ द म्याच घोषित उनले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। साहिल पटेल र अनिल यादवले समान १२ रन बनाए। दशौँ विकेटका लागि अनिल यादव र गोमानन्द अमात्य बीच २१ रनको अविजित साझेदारी हुँदा बलान बिहुल जितबाट बन्चित रह्यो।

बलान बिहुलको बलिंगमा रोबिन सिंहले ३ तथा रुपेश सिंह र बसिर अहमदले २÷२ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।
यसअघि टस हारेर ब्याटिंग गरेको बलान बिहुलले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४३ रन बनाएको थियो। जसमा विशाल यादवले २४, कप्तान पवन सर्राफले २२, रोबिन सिंहले १५ तथा हसिम अन्सारीले १४ रन बनाए। खडक वारियर्सका बलर विवेक यादवले ३ तथा अनिल खरेल र गोमानन्द अमात्यले समान १÷१ विकेट लिए।
तीनवटै खेलमा लगातार जितपछि बजाज खडक वारियर्स ६ अंकसहित अंक तालिकाको शिर्षस्थानमा कायम छ। तेस्रो खेलमा दोस्रो हार पछि २ अंक रहेको बलान बिहुल पाँचौ स्थानमा छ।
दोश्रो खेलमा छिन्नमस्ता लायनले कञ्चनरुप राइनोजलाई २५ रनले पराजित गरेको छ। छिन्नमस्ताले दिएको १४४ रनको लक्ष्य पछ्याएको कञ्चनरुप १८.४ ओभरमा ११८ रनमा सबै विकेट गुमाएर अलआउट भयो।
कञ्चनरुपका लागि अमित यादवले ३९ तथा पप्पु यादवले २६ रन बनाए। छिन्नमस्ताका बलर इमरान शेखले ४ विकेट तथा कमल खत्रीले ३ विकेट लिए। प्लेयर अफ द म्याच घोषित शेखले ४ ओभरमा २१ रन खर्चिए। पप्पु यादव, शरद भेसावकर र रेवती रोयले समान १÷१ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १४३ रन बनायो । छिन्नमस्ताका लागि शुभ कंसाकार र हिमांशु दत्ताले समान ३५ रन बनाए। पप्पु यादवले १७ तथा राहुल मण्डलले १५ रन बनाए । कञ्चनरुप राइनोजका बलर पप्पु यादवले ३ तथा राशिद खानले २ विकेट लिए।
३ खेलमा दोश्रो जित पछि छिन्नमस्ता ४ अंक सहित दोश्रो स्थानमा छ। समान नतिजा र अंक सहित रुपनी राइडर्स नेट रन रेटको आधारमा तेश्रो स्थानमा छ। तेश्रो खेल खेल्दा दोश्रो हार पछि कञ्चनरुप २ अंक सहित चौथो र समान नतिजा र अंक रहेको बलान बिहुल पाँचौ स्थानमा रहेको छ।
प्रतियोगिता अन्तर्गत छैठौं दिन भोलि शुक्रबार पनि दुई खेल हुनेछन्। पहिलो खेल छिन्नमस्ता लायन्स र रुपनी राइडर्स तथा दोश्रो खेल बलान बिहुल सुपर किंग्स र राजविराज द किंग बीच प्रतिस्पर्धा गर्ने आयोजक सप्तरी क्रिकेट संघले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page