मधेस प्रदेश

एमाले सांसदद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्ध ,रकमान्तरको नाममा अनियमितताको आरोप

राजविराज, २३ असार । नेकपा एमालेका सांसदहरुले मधेश प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।
शनिबार बसेको बैठकमा मधेशका अर्थमन्त्री सञ्‍जयकुमार यादवले आर्थिक वर्षको अन्त्यमा रकमान्तरका नाममा अनियमितता गरेको आरोप लगाउँदै मुख्यमन्त्री सरोजकुमार यादवको जवाफ माग्दै एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
बजेट भाषण सकेपछि अर्थमन्त्री संजयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै विरोध जनाउँदै मुख्यमन्त्रीको तर्फबाट जवाफ नआएसम्म बैठक चल्न नदिने एमालेका प्रदेश सांसद राजकुमार लेखीले बताउनु भयो । लेखीले रकमान्तरको विषयमा छानबिन हुनुपर्ने र संसदीय छानबिन समिति समेत गठन हुनुपर्ने नभए संसद चल्न नदिने उहाँले बताउनु भयो।
एमालेका मुख्य सचेतक लखन दासले प्रदेश सभाको बैठक शुरू हुने बित्तिकै सरकारले रकमान्तर गरेर अनियमितता गरेको भन्दै विरोध जनाउनु भयो। आफ्नो गृहजिल्ला सर्लाहीमा २२ वटा योजनामा करीब १४ करोड रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्रीको जवाफ माग गर्नुभयो ।
दासले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयले २० करोड तथा पर्यटन मन्त्रालयले आठ करोड रकमान्तर गरेको, बिचौलियाको मिलोमतोमा ५ देखि १० प्रतिशत कमिशन लिएर रेड बूकमा योजना समावेश गरिएको आरोप लगाउनु भयो।
एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको थियो । अर्को बैठक आइतबार बस्ने भएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page